
याङलिङ एग्रिकल्चर एलायन्स प्रिमियम प्रोडक्ट्स र विभिन्न कम्पनीबीच रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर समारोह।
साउथ एसिया टिभी, सिआन, कार्तिक १४ — नेपालस्थित साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुप (SATV) का चीनका व्यावसायिक प्रतिनिधि चाओ वनह्वाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कार्तिक १३ मा याङलिङ एग्रिकल्चर एलायन्स प्रिमियम प्रोडक्ट्स एग्रिकल्चरल डेभलपमेन्ट कम्पनी लिमिटेडको भ्रमण गरेको छ।
भ्रमणका क्रममा कृषि तथा सञ्चारमाध्यम क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने विषयमा विशेष छलफल भएको थियो। दुवै पक्षले अन्तरदेशीय औद्योगिक सहकार्यका सम्भावना, कार्यान्वयनका प्रक्रिया तथा व्यावहारिक योजनाबारे विचार आदानप्रदान गर्दै आगामी सहकार्यको प्रारम्भिक रूपरेखामा सहमति जनाएका छन्।
याङलिङ एग्रिकल्चर एलायन्स प्रिमियम प्रोडक्ट्स एग्रिकल्चरल डेभलपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लुओ पिङफङले कम्पनीको व्यावसायिक संरचना र रणनीतिक योजनाबारे जानकारी गराउँदै आफूहरूको संस्था शाङ्घाई सहयोग संगठन (SCO) को कृषि प्रविधि आदानप्रदान तथा तालिम प्रदर्शन केन्द्रसँग सम्बन्धित एक महत्वपूर्ण प्लेटफर्म रहेको बताए।
उनले ‘SCO लाइफस्टाइल प्याभिलियन’ मार्फत कम्पनीले व्यवसाय तथा ब्रान्ड विकास, उद्यमशीलता प्रवर्द्धन र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार सञ्जाल विस्तारमा ध्यान केन्द्रित गर्दै आएको बताए। यस पहलको उद्देश्य चीनका गुणस्तरीय कृषि तथा विशेष उत्पादन र औद्योगिक स्रोतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु रहेको उनले उल्लेख गरे।

SATV चीनका व्यावसायिक प्रतिनिधि चाओ वनह्वा र याङलिङ एग्रिकल्चर एलायन्स प्रिमियम प्रोडक्ट्स एग्रिकल्चरल डेभलपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लुओ बिङफङबीच सहकार्यबारे छलफल हुँदै।
यस अवसरमा साउथ नेटवर्क एसिया टिभी (SATV) का चीनका व्यावसायिक प्रतिनिधि चाओ वनह्वाले नेपालमा आधारित रही दक्षिण एसियाली क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रूपमा SATV ले अन्तर्राष्ट्रिय सञ्चार सञ्जाल र स्थानीय स्तरमा सञ्चालन गर्ने क्षमता विकास गरेको बताए। SATV चीनको बजार र दक्षिण एसियाली मुलुकहरूबीच सम्पर्क तथा सहकार्य विस्तार गर्ने महत्वपूर्ण सञ्चारमाध्यम बन्न सक्ने उनले बताए।
भ्रमणका क्रममा SATV को व्यावसायिक टोलीले याङलिङ एग्रिकल्चर एलायन्स प्रिमियम प्रोडक्ट्सको व्यावसायिक कार्यक्षेत्र, उद्यम सहयोग प्रणाली तथा अन्तर्राष्ट्रिय बजार विस्तारसम्बन्धी योजनाबारे विस्तृत जानकारी लिए।
दुवै पक्षले अन्तरदेशीय सहकार्यको समग्र दिशा, कार्यान्वयन प्रक्रिया र सम्भावित परियोजनाबारे छलफल गर्दै आ-आफ्ना स्रोतसाधन तथा सहकार्यका आधारहरूको समीक्षा गरे।
छलफलपछि दुवै पक्षले पहिलो चरणमा संस्थागत तहमा सहकार्यको रूपरेखा तयार गर्ने र त्यसपछि विभिन्न औद्योगिक क्षेत्रअनुसार चरणबद्ध रूपमा ठोस परियोजना अघि बढाउने सहमति गरेका छन्। यस प्रक्रियामा कानुनी तथा अन्य मापदण्डको पालना र कार्यान्वयनको प्रभावकारितालाई ध्यान दिँदै ‘उद्यम–सञ्चारमाध्यम–सरकार’ बीच समन्वयात्मक सहकार्यको मोडेल विकास गर्ने लक्ष्य राखिएको छ।
दुवै पक्षले उपलब्ध व्यावसायिक सञ्जाल र उद्यम स्रोतका आधारमा अन्तर्राष्ट्रिय परियोजनाका लागि उपयुक्त कम्पनी छनोट गर्ने तथा सञ्चारमाध्यमको प्रचारप्रसार क्षमता र औद्योगिक स्रोतबीच पारस्परिक सहकार्य विस्तार गर्ने योजना बनाएका छन्। आगामी चरणमा आवश्यक विवरण संकलन, सम्बन्धित पक्षहरूसँग समन्वय तथा स्थलगत भ्रमण र अध्ययनका काम अघि बढाइनेछ।

याङलिङ एग्रिकल्चर एलायन्स प्रिमियम प्रोडक्ट्सले विभिन्न क्षेत्रका १६ कम्पनीसँग रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको दृश्य। सम्झौतामा विशेष कृषि उत्पादन, चिया, खाद्य प्रशोधन, जैविक औषधि तथा सांस्कृतिक उद्योगलगायतका क्षेत्र समेटिएका छन्।
यसैबीच, कार्तिक १३ मै चीनको शान्सी प्रान्तस्थित याङलिङमा याङलिङ एग्रिकल्चर एलायन्स प्रिमियम प्रोडक्ट्सको उद्यम सशक्तीकरण रणनीतिक गोष्ठी तथा सम्झौता हस्ताक्षर समारोह आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा याङलिङ एग्रिकल्चर एलायन्स प्रिमियम प्रोडक्ट्सले चीनका विभिन्न क्षेत्रका १६ वटा कम्पनीसँग रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौतामा विशेष कृषि उत्पादन, चिया उद्योग, खाद्य प्रशोधन, जैविक औषधि तथा सांस्कृतिक उद्योगलगायतका क्षेत्र समेटिएका छन्।
कार्यक्रममा विभिन्न उद्योगका अतिथि, उद्यमी प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति भइ कम्पनी र विभिन्न व्यावसायिक संस्थाबीच भएको रणनीतिक सहकार्य सम्झौताको साक्षी बने।
सहभागीहरूले यस सहकार्यलाई व्यावसायिक विस्तार र अन्तर्राष्ट्रिय आदानप्रदान दुवै दृष्टिले महत्वपूर्ण रहेको बताएका छन्। यसले चिनियाँ कम्पनीहरूलाई विदेशी बजारमा प्रवेश गर्न सहयोग पुर्याउनुका साथै चीन र अन्य देशबीच औद्योगिक सम्पर्क, स्रोतसाधनको साझेदारी तथा आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
आगामी दिनमा याङलिङ एग्रिकल्चर एलायन्स प्रिमियम प्रोडक्ट्सले SATV को अन्तर्राष्ट्रिय सञ्चार सञ्जालसँग सहकार्य गर्दै ब्रान्ड प्रचारप्रसार र व्यापारिक सम्पर्कलाई एकीकृत गर्ने, अन्तर्राष्ट्रिय सञ्चारका माध्यम विस्तार गर्ने तथा कृषि क्षेत्रको अन्तर्राष्ट्रियकरणलाई नयाँ गति दिने लक्ष्य राखेको छ।

















