
दक्षिण एसिया टेलिभिजन, काठमाडौँ, भदौ ९ — चीनको प्रख्यात क्षेत्रीय टेलिभिजन च्यानल खाङ्पा टेलिभिजनले नेपालको राष्ट्रियस्तरको अनलाइन टेलिभिजन प्लेटफर्म नेट टेलिभिजनमा औपचारिक प्रसारण सुरू गरेको छ। यसले चीन र नेपालबीचको सांस्कृतिक तथा जनस्तर आदानप्रदानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
हिमालय क्षेत्रको विशिष्ट सांस्कृतिक तथा भौगोलिक पृष्ठभूमिमा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गर्दै आएको खाङ्पा टेलिभिजनले चीनको पश्चिमी भू–भाग, विशेषगरी सिचाङ स्वायत्त क्षेत्र तथा छिमेकी प्रान्तहरूको जनजीवन, परम्परा, कला, संस्कृति र विकासका गतिविधिलाई नियमित प्रसारण गर्दै आएको छ। उक्त च्यानलले हालसम्म हिमाली भेगको प्राकृतिक सौन्दर्य, स्थानीय समुदायका दैनिक गतिविधि, हस्तकला उद्योग र शहरी विकासका चित्रहरूलाई यथार्थपरक ढङ्गमा दर्शकसमक्ष पुर्याउँदै आएको छ।
चिनियाँ टेलिभिजन च्यानलको नेपालमा प्रसारणले दुई देशका जनताबीचको सूचना आदानप्रदान, सांस्कृतिक बुझाइ र पारस्परिक विश्वास अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास गरीएको छ। साथै, यसले नेपालका दर्शकलाई थप विविधतापूर्ण सामग्री उपलब्ध गराउनुका साथै पर्यटन, व्यापार र जन–सम्पर्क क्षेत्रमा पनि नयाँ सहकार्यका अवसरहरू सिर्जना गर्ने विश्लेषण गरिएको छ।
नेपालमा हाल चीनका विभिन्न सञ्चारमाध्यमले आ–आफ्ना कार्यक्रम प्रसारण गरिरहेका छन् भने नेपाली सञ्चारमाध्यमहरूले पनि चिनियाँ दर्शकलाई नेपालबारे जानकारी गराउने कार्यलाई निरन्तरता दिइ रहेका छन्। दुवै देशबीचको यस प्रकारको मिडिया आदानप्रदानले दीर्घकालीन सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।


















