
काठमाडौँ, भदौ ३ गते । काठमाडौंको ऐतिहासिक हनुमानढोकामा नेपाली फोटो पत्रकारहरूले आफ्नो क्यामेराको लेन्समार्फत प्रस्तुत गरेको चीनसम्बन्धी विशेष फोटो प्रदर्शनी सम्पन्न भएको छ।
नेपालस्थित चीन सांस्कृतिक केन्द्रको १०औँ वार्षिकोत्सव तथा १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा विशेष फोटो प्रदर्शनी आयोजना गरिएको हो।
प्रदर्शनीमा नेपाली फोटो पत्रकारहरूले चीन भ्रमणका क्रममा खिचेका चीनका प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, आधुनिक विकास, जनजीवन र चीन–नेपालबीचको सम्बन्ध झल्काउने विभिन्न तस्बिरहरू राखिएका थिए।

नेपाली फोटो पत्रकारको दृष्टिकोणबाट चीनको विविध पक्षलाई प्रस्तुत गरिएको प्रदर्शनीले फोटोग्राफीमार्फत दुई देशबीचको सांस्कृतिक सम्बन्ध, आपसी समझदारी र जनस्तरको आदानप्रदानलाई थप मजबुत बनाउने सन्देश दिएको थियो।
नेपालस्थित चीन सांस्कृतिक केन्द्र र राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनी हनुमानढोकामा बुधबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको थियो।
“संस्कृति कैद गर्दै, राष्ट्र जोड्दै” भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनीमा दर्शकहरूले चीनलाई नेपाली फोटो पत्रकारको आँखाबाट हेर्ने अवसर पाएका थिए।



































