
काठमाडौँ, साउन २४ गते । मोरक्कोबाट स्पेनको स्वायत्त टापु स्युटामा ठुलो सङ्ख्यामा आप्रवासी प्रवेश गरेपछि उत्पन्न विवादसँगै स्पेनले इटलीबाट हुने हवाई तथा समुद्री यात्रामा नियन्त्रण लागु गरेको छ । सीमा नियमन गर्ने स्पेनको निर्णयले दुई युरोपेली सङ्घ (इयु) र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) दुवैका सदस्य रहेका यी दुई राष्ट्रबिच गम्भीर विवाद उत्पन्न भएको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ ।
म्याड्रिडले एक महिनाका लागि लागु गरेको सो नियम इटली हुँदै स्पेन जाने तेस्रो देशका नागरिक मात्रै नभएर इटलीकै नागरिकका हकमा पनि लागु हुने भएको छ । मोरक्कोको तट हुँदै हजारौँको सङ्ख्यामा आप्रवासी स्पेनको स्युटा प्रवेश गरेसँगै इटलीले पनि गत साता यस्तो निर्णय गरेको थियो । इटलीको प्रतिबन्धबाट चिढिएको स्पेनले इटलीमाथि पनि उस्तै किसिमको कडाइ घोषणा गरेको हो । त्यसअघि स्पेनले शुक्रबार इटलीलाई नियन्त्रणको निर्णय आइतबारसम्म फिर्ता लिन आग्रह गरेको थियो ।
तर रोमले कम्तीमा अगस्ट १५ सम्म सीमा नियन्त्रण कायम रहने जनाएको छ । त्यसअघि नै स्युटामा आप्रवासीको अर्को लहर आउने स्पेनले ठानेको इटलीको दाबी छ । आप्रवासी सङ्कटले स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज र इयुमा कडा आप्रवासन नीतिको पक्षमा पैरवी गरिरहेका इटलीका दक्षिणपन्थी प्रधानमन्त्री जोर्जा मेलोनीलाई विवादमा ल्याएको छ । स्पेन र इटलीबिच स्थल सीमा छैन । इटली सरकारले स्युटा प्रवेश गरेका आप्रवासी इटलीसम्म आउन नदिन अस्थायी रूपमा सेन्जेनको ‘बोर्डर फ्री’ यात्राको व्यवस्था निलम्बन गरेको छ ।
म्याड्रिडले चाहिँ स्युटा पुगेका आप्रवासीसँग सेन्जेन क्षेत्रमा प्रवेश गर्ने कुनै आधार नभएको दाबी गर्दै इटलीको भनाइ आधारहीन रहेको बताएको छ । इटलीले स्पेनको कुनै पनि चेतावनी स्वीकार नगर्ने र देशको सुरक्षा तथा आतङ्कवादसम्बन्धी जोखिम पूर्ण रूपमा समाप्त नभएसम्म स्पेनबाट आउने गैरयुरोपेली नागरिकका लागि सेन्जेन व्यवस्था निलम्बनमा पुनर्विचार नगर्ने जनाएको छ ।
रोमले स्पेनी नागरिक अतिरिक्त जाँचबाट मुक्त रहेको र थप जाँच केवल गैरयुरोपेली नागरिकका हकमा मात्र लागु भएको दोहो¥याएको छ । पछिल्ला दिनहरूमा स्पेनबाट आउने यात्रुलाई विमानस्थलमा छुट्टै लाइनमा राखेर जाँच गरिएको र त्यहाँ लामो लाइन लागेको छ । म्याड्रिडको जवाफी कदमले इटलीका नागरिक तथा अन्य देशबाट आएका यात्रुको राहदानी, राष्ट्रियता र भिसा जाँच हुने छ । स्पेनको सरकारले यसलाई ‘निरन्तरको अनियमित आप्रवासन दबाब’ को प्रतिक्रिया भनेको छ । स्पेनले गर्ने जाँच सेप्टेम्बर ७ सम्म कायम रहने जनाइएको छ ।
फिनल्यान्ड र डेनमार्कले सेन्जेनको यात्रा व्यवस्था एक महिनाका लागि निलम्बन गर्ने इटलीको निर्णयलाई समर्थन गरेका छन् । चेक रिपब्लिकले स्पेनको सदस्यतै अस्थायी रूपमा निलम्बन गर्नुपर्ने सुझाव दिएको छ । गत साता स्युटामा पुगेका अधिकांश आप्रवासी केही दिनभित्रै फिर्ता पठाइएका थिए । तर नाबालक र त्यसमध्येका पनि केही बालबच्चासहित करिब १४ सय जना अझै स्पेनमा छन् । दसौँ हजार आप्रवासीले एकै पटक स्युटा प्रवेश गर्ने प्रयास किन गरे भन्ने कुरा अझै स्पष्ट भएको छैन । तर इयुका आप्रवासनसम्बन्धी आयुक्तले गलत सूचना फैलाउने आपराधिक सञ्जालबाट त्यो समूह प्रभावित भएको हुन सक्ने बताएका छन् । स्पेन सरकारले पनि यो दाबीमा समर्थन गरेको छ ।


















