
काठमाडौँ, वैशाख ५ गते । पश्चिम नवलपरासीमा शनिबार आयोजित साइकल यात्रामा सात जिल्लाका करिब एक सय जना साइकल यात्री (राइडर) सहभागी भएका छन्। धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले विश्व सम्पदा दिवसको अवसरमा नवलपरासी साइकल राइडर्स क्लबको आयोजनामा ‘जिल्लास्तरीय साइकल यात्रा’ सम्पन्न गरिएको हो।
आज बिहान ७ बजे सुनवलको कृष्णधामबाट सुरु भएको यात्रामा सातै जिल्लाका करिब १०० जना व्यावसायिक तथा सौखिन राइडरहरूको सहभागिता रहेको क्लबका सचिव बासुदेव पौडेलले जानकारी दिनुभयो। यात्राले जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वका प्रमुख स्थलहरूलाई जोड्ने लक्ष्य लिएको छ।
सुनवलबाट सुरु भएको साइकल यात्राले विश्व प्रसिद्ध भगवान् बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप, भटौलिया र कञ्चनकोटी जस्ता ऐतिहासिक क्षेत्रहरूको परिक्रमा गर्नेछ। त्यसैगरी ऐतिहासिक बाबा बर्दगोरिया धामको अवलोकन गर्दै यात्रा पुनः सुनवलमै पुगेर समापन हुने कार्यतालिका रहेको छ।
‘स्वास्थ्य र सम्पदा संरक्षण गरौँ, हराभरा बनाऔँ’ भन्ने मूल नारासहित आयोजना गरिएको यो जिल्लाकै पहिलो ठुलो साइकल यात्रा हो। क्लबका अध्यक्ष रामबहादुर थापाका अनुसार ओझेलमा परेका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्नु यसको मुख्य उद्देश्य हो।
उहाँले भन्नुभयो, “हामीले साइकलको महत्त्व बुझाउनुका साथै वातावरण संरक्षण र इन्धन (डिजेल/पेट्रोल) खपत कम गर्ने सन्देश पनि समाजमा दिन चाहेका छौँ।”
नगरपालिकाहरूको करिब तीन लाख रुपियाँ सहयोगमा सञ्चालन भएको कार्यक्रममा सुनवल, रामग्राम र बर्दघाट नगरपालिकाले आर्थिक सहयोग गरेका छन्। बाँकी खर्च क्लबका सदस्यहरूबाट संकलन गरी व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।
स्थानीय स्तरमा खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउने यो प्रयासले पश्चिम नवलपरासीको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।





