नेभिगेसन मेनु

मुन्द्रा चढाउने डाँडामा पाहुना घर
सम्पादक:南亚网络电视
समय:2024-06-23 12:35

mundra-dada-1

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । 

समुद्री सतहदेखि ३ हजार दुईसय ४ मिटर उचाइमा रहेको मुन्द्रा चढाउने डाँडामा पुगेका पर्यटकको सुविधाका लागि गाउँपालिकाले पाहुना घर निर्माण गरेको हो । पर्यटकको सुविधाका लागि यहाँ खाना र बास बस्न मिल्ने गरी गाउँपालिकाको ९ लाख र स्थानीयको एक लाख बराबरको श्रमदान गरी १० लाख रुपियाँमा डाइनिङ हलसहितको पाहुना घर निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभयो । 

मुन्द्रा चढाउने डाँडास्थित चुच्चे खर्कमा बनाइएको सो पाहुना घरमा ३० जनासम्म पर्यटक वास बस्न मिल्ने क्षमताको रहेको छ । काठबाट बनाइएको पाहुना घर  जस्तापाताले छाइएको छ । हिउँद याममा हावाहुरी र हिउँले समेत असर नपुगाउने  गरी स्लोभ आकारमा निर्माण गरिएको छ ।  

मुन्द्रा चढाउने डाँडालाई पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजनाअनुरूप गाउँपालिकाले पूर्वाधार निर्माण गरेको उपाध्यक्ष पुनले बताउनुभयो । मुन्द्रा चढाउने डाँडा धार्मिक महत्वको क्षेत्र भएकाले पनि यसको प्रचारप्रसारसहित पूर्वाधार निर्माणले पूर्णता पाएमा आन्तरिक तथा बाह्य पर्यटकको समेत आगमन बढ्न सक्ने सम्भावना भएको वडा २ का वडाध्यक्ष ओम फगामीले बताउनुभयो । 

पर्यटकको सुविधाका लागि मान्द्रे ढुङ्गा, भूमेथान हुँदै मुन्द्रा चढाउने डाँडासम्म जोड्ने पदमार्ग गाउँपालिकाले यसअघि नै निर्माण गरिसकेको छ । उक्त क्षेत्रमा खानेपानी, शौचालय निर्माणका साथै पदमार्गमा पर्यटन सूचना बोर्ड समेत राख्नेगरी आगामी आर्थिक वर्षमा योजना सञ्चालन गरिने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । 

मान्द्रे ढुङ्गादेखि पाँच घण्टा पैदल हिँडेपछि मुन्द्रा चढाउने डाँडामा पुग्न सकिन्छ । यसै पदमार्ग भएर धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ । यहाँबाट धौलागिरि, निलगिरी, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लु लगायत दर्जनभन्दा बढी हिमशृङखला, सूर्योदय, सुन्दर पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी र गुराँससहितको बनजंगलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर