नेभिगेसन मेनु

सगरमाथा छिटो चढ्ने महिला बने फुन्जो
सम्पादक:南亚网络电视
समय:2024-05-24 13:24

aarohi-funjo-lama

जेठ ११ गते । गोरखाकी फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ । सगरमाथा आधार शिविरमा रहेको अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार ३३ वर्षीया लामा आधार शिविरबाट १४ घण्टा ३१ मिनेट लगाएर बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सर्वोच्च शिखरको चुचुरोमा पुग्नुभएको हो । 

अनुगमन कार्यालयका प्रमुख खिमलाल गौतमले भन्नुभयो, “आरोही लामाले सगरमाथा आधार शिविरबाट आरोहण सुरु गरेर पुनः आधार शिविरमा आइपुग्दा २४ घण्टा ३६ मिनेट लगाउनुभएको छ । उहाँ आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।” उहाँ बुधबार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेर बुधबार बिहान ६ बजेर २३ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।

पर्यटन विभागका अनुसार आरोही लामा चुमनुब्री गाउँपालिका–७, छेकम्पार गोरखाकी स्थायी बासिन्दा हुनुहुन्छ । यसअघि उहाँले सन् २०१८ मा ३९ घण्टा ६ मिनेट लगाएर सगरमाथाको आरोहण गर्नुभएको थियो । विभागका अनुसार सन् २०२१ मा हङकङकी स्याङ यिन हङ (आडा) ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रूपमा गिनिज बुकमा नाम लेखाउनुभएको थियो । जुन रेकर्ड आरोही लामाले तोड्नुभएको छ ।

विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार जापानका महिला आरोही जुन्को ताबेईले सर्वप्रथम २०३२ जेठ २ गते पहिलो महिला आरोहीका रूपमा सगरमाथा आरोहण गर्नुभएको थियो । 

त्यस्तै गरी न्युजिल्यान्डका महिला आरोही लिडिया ब्राडेले २०४५ असोज २८ गते महिलातर्फ बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने महिलाका रूपमा कीर्तिमानी राख्नुभएको थियो ।

पुरुषतर्फ भने सर्वप्रथम २०६० जेठ १२ गते लाक्पा गेलु शेर्पाले १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण पूरा गर्नुभएको थियो । त्यसको एक वर्षपछि उहाँको रेकर्डलाई पेम्बादोर्जे शेर्पाले २०६१ जेठ २१ गते आठ घण्टा १० मिनेटमा आधार शिविरदेखि चुचुरोसम्म पुगेर नयाँ रेकर्ड राखेको दावी गरेपनि प्रमाण अभावका कारण अदालतले खारेजी गरेको थियो । 

यसैबिच बिनाअक्सिजन सगरमाथा आरोहणका क्रममा बुधबार राति ४० वर्षीय केन्याका नागरिक जोसुवा चेरुयोट (अक्सिजनसहित) र उहाँको साथमा रहेका नेपाली गाइड लिखु पिके गाउँपालिका–६ का ४४ वर्षीय ङवाङ शेर्पाको मृत्यु भएको विभागले जनाएको छ । 

उहाँहरू दुवै जना बुधबार राति सगरमाथा चुचुरो नजिक मृत अवस्थामा फेला पर्नुभएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर