नेभिगेसन मेनु

पर्यटन क्षेत्रको दिगो व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएका छौँ : अध्यक्ष शेर्पा
सम्पादक:南亚网络电视
समय:2024-06-06 12:27

sfdnbsf

नेपालकै पहिलो रोजाइको पर्यटकीय गन्तव्य सगरमाथा आधारशिविर क्षेत्र अर्थात खुम्बु क्षेत्र हो । पदयात्रा तथा पर्वतारोहणका नेपाल आउने पर्यटकहरुको पहिलो राेजाइ पनि खुम्बु क्षेत्रनै हुने गरेको तथ्याङ्कले देखाएको छ । पहिचान भएका तीन हजार हिमालमध्ये पाँच सयभन्दा बढी हिमाल यसै गाउँपालिकाभित्र रहेका छन् भने विश्वकै अग्लो हिमाल सगरमाथालगायत ७८ वटा अग्ला हिमाल यसै गाउँपालिकाभित्र पर्दछन् । पदयात्रा र पर्वतारोहणका लागि संसारका पर्यटकहरुको भीड लाग्ने खुम्बु क्षेत्रलाई पर्यटन प्रवर्द्धन भन्दा पनि गुणस्तरीय सेवा र दिगो व्यवस्थापन नै चुनौती बनेको छ । 

वार्षिक ५५ हजारभन्दा बढी पर्यटक यस क्षेत्रमा पुग्ने गरेको गाउँपालिकाको तथ्याङ्क छ । विदेशी पर्यटकदेखि आन्तरिक पर्यटकसमेत गरी मुख्य सिजनमा खुम्बु क्षेत्रमा भीड थामिनसक्नु हुन्छ । अन्य क्षेत्रमा भने पर्यटक आकर्षणका योजनाहरु अघि सार्नुपर्ने बाध्यता छ भने खुम्बुमा भने पर्यटकको  भीडको दिगो व्यवस्थापन गर्नु चुनौती बन्दै गएको छ । सुरक्षित गन्तव्य, फोहोर व्यवस्थापन लगायत दिगो व्यवस्थापन र थप प्रवर्द्धनका लागि स्थानीय तहले के, कस्ता योजना र रणनीतिहरु अघि सारेका छन् भन्ने विषयमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पासँग गोरखापत्रकर्मी छेटु शेर्पाले लुक्लामा पुगेर गर्नुभएको कुराकानी :

१. खुम्बु क्षेत्रमा पर्यटक आवागमनको अवस्था कस्तो छ ? 

- खुम्बु क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक वार्षिक ५५ हजारभन्दा बढी आगमन हुने गरेको छ । 

२. पर्यटन प्रवर्द्धनका लागि के कस्ता योजनाहरु अघि बनाउनुभएको छ ? 

-  खुम्बु क्षेत्रमा तत्काल पर्यटन क्षेत्रको प्रवर्द्धन गरेर सङ्ख्यात्मक वृद्धिभन्दा पनि यो आगमनको सङ्ख्यालाई गुणस्तरीय सेवा र दिगो व्यवस्थापन जरुरी ठानेर काम सुरु गरेका छौं । 

३. दिगो व्यवस्थापन भनेको ?

-  जस्तै एउटै उदाहारण दिन्छु, सङ्घीय सरकारले फोहोर व्यवस्थापनको नाममा फोहोर सङ्कलन मात्र गर्ने गरेको छ तर फोहोरनै गर्न नदिने गरेको रणनीति अघि सार्न सकेको छैन । यसरी फोहोर गरि रहने र सङ्कलन गरिरहने हो भने यो एउटा प्रक्रिया मात्र बन्ने देखिन्छ यसका लागि कानुनी व्यवस्था नै गरेर पर्यटन क्षेत्रको दिगो व्यवस्थान गर्नुको विकल्प छैन । यसका लागि गाउँपालिकाले अन्य पक्षको व्यवस्थापनभन्दा फरक पर्यटन क्षेत्रसँग मात्र सीमित बनेर बन, निकुन्ज, निजी क्षेत्र र सङ्घीय सरकारसँग सहकार्य गरेर एउटै योजना अघि सार्ने गरी काम अघि बढाएको छ । सरकारले व्यवस्थापनको नेतृत्व लिनुपर्ने नभए गाउँपालिकासँग सहकार्य गरेर एकद्वार योजना बनाउनु नै अन्तिम विकल्प हुनेछ । 

४. सबै हिमालको आधारशिविर सफाइ गर्न यस वर्षदेखि गाउँपालिकाले खुम्बुका हिमाल आरोहण गर्ने पर्वतारोहीहरुलाई आफूले गरेका फोहोर आफैं आधारशिविर ल्याउन लगाउनुभयो यो व्यवस्था कति प्रभावकारी बन्यो त ?

-  खुम्बुका हिमालहरुको आधारशिविरलाई सफाइ गर्ने गरी कार्यविधि बनाएर काम सुरु गरेका छौ । यो व्यवस्था लागु गरेको यो पहिलो वर्ष हो, तर पनि नजिता सन्तोषजनक छ । आउने वर्षहरुदेखि सायद शतप्रतिशत उपलब्धि हासिल गर्ने लक्ष्यमा छौँ । हिमाल हाम्रो आम्दानीको स्रोत भएकाले सरकार मात्र नभएरु आरोही गाइडहरु समेत सचेत गराउने कार्यक्रम सुरु गरेका छौं ।  

५. यो अभियानमा कसले सहयोग र असहयोग गरेको पाउनुभयो ? 

-  खासगरी आधारशिविर व्यवस्थापनदेखि आरोहीले मलमूत्र आधारशिविर ल्याएर व्यवस्थापन गर्नुमा विदेशी आरोहीहरु बढी सजग भएको पाए, उनीहरुले हामीलाई सुझाव दिएका छन् । सयौ देशका उच्चतहसम्मका नागरिकहरु खुम्बु आएर हिमालको संरक्षण, यहाँको शेर्पा संस्कृतिको संरक्षण गर्न सुझावसमेत दिने गरेको छ । तर केही नेपाली आरोही तथा गाइडहरुबाट यो अभियानलाई सहयोग नपुगेको महसुस गरेको छु । तर जनचेतना अभावले हुनसक्छ ? विस्तारै संस्थागत रुपमै सहकार्य गरेर यो शून्य बनाउने प्रयासमा छौँ । 

६. हिमाल सफाइको अभियानमा गाउँपालिकासँग सङ्घीय सरकारले कतिकै समन्व्य गर्दै आएको छ ? 

-  सफाई अभियान सङ्घीय सरकारले करोडौ लगानी गरेर कार्यक्रमकै रुपमा वार्षिक रुपमा गर्दै आएको पाइन्छ तर स्थानीय तहसँग सहकार्य र समन्व्य अली नभएको महसुस गरेका छौं । सरकारले गरेका हरेक क्रियाकलापमा समन्व्य भए हामी समेत थप लगानी गरेर अभियानलाई सफल बनाउनेतर्फ लाग्ने थियौं त्यो भने हुन सकेको छैन ।

७. के उसो भए गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव छैन त ?

-  खुम्बु प्रवेश गर्ने पर्यटकका लागि गाउँपालिका जिम्मेवार छ । तीन वर्ष अघिदेखि प्रत्येक पर्यटकलाई ट्रेक कार्ड उपलब्ध गराएर प्रवेश र फर्केको विवरण राख्दै आएका छौं यो योजनामा हामी सफल बनेका छौं यसले पनि सुरक्षित महसुस गरेका छन् । अव होटल व्यवस्थापन र सीपयुक्त जनशक्ति र सुरक्षाका विषयलाई प्रभावकारी बनाउनेतर्फ गाउँपालिकाले योजना बनाउँदै आएको छ । 

८. पर्यटकमा जारी गरिएको ट्रेक कार्डको योजनामा सफल भयो त ?

-  खास गरी पर्यटकमा ट्रेक कार्ड लागु गर्नु तीन वटा पक्षलाई लिएका छौं यसमा पर्यटकको तथ्याङ्क सङ्कलनसँगै विश्वभर प्रवर्धन गर्ने, पर्यटन क्षेत्रको व्यवस्थापनलाई प्रभावकारी बनाउने र पर्यटकको सुरक्षाका लागि सुरुवात गरिए पनि यो योजनामा सफल भएका छौं अब पूर्ण क्षमतामा अघि बढ्ने तयारीमा छौं । 

९. सुरक्षाको कुरा गर्दा यो क्षेत्रमा पर्यटक एक्लै घुम्न आए पनि प्रवेश दिने गरेको छ ? 

- पर्यटन ऐनले नै व्यवस्था गरेको विषयलाई हामीले कार्यन्वयन नगर्ने भन्ने हुँदैन त्यसैले गाइडविनाका पर्यटक खुम्बुमा प्रवेश पाउँदैनन् । बिना गाइड आउने पर्यटकलाई हाइपासहरुमा जान गाइड पोर्टर सहित जान सुझाव दिएका छौँ तर नर्मल ट्रेक गर्ने विदेशी लाई गाइड पोर्टर अनिवार्य भनेर बाध्यकारी बनाएका छैनौँ । त्यसैले पनि खुम्बुमा पर्यटक बेपत्ता हुने र दुर्घटनामा पर्ने जस्ता घटनामा कमी आएको छ । 

१०. विवादका बिच पनि गाउँपालिकाले प्रवेश शुल्क सङ्कलन गर्ने गरेको आरोप छ नि ?

-  विवादभन्दा पनि स्थानीय सरकारको आफ्नै नियमभित्र रहेर पर्यटकहरुको सुरक्षाका लागि हामीले सामान्य शुल्क उठाउने गरेका छौं यो शुल्क पर्यटककै हितमा खर्च गरिँदै आएको छ । 

११. पर्यटकको सुविधाका लागि भन्नाले ? सडक पहुँच, रेस्क्यु, स्वास्थ्य र इन्टरनेट जस्ता सुविधाप्रति के गर्नुभएको छ ? 

-  हालसम्म खुम्बु प्रवेशको एउटै उपाय हवाई मार्ग बनेको छ । मौसम छिनछिनमा परिवर्तन हुने भएकाले पर्यटकले सास्ती भोग्नुपर्ने बाध्यता पक्कै हो त्यसले सडक सञ्जाललाई तत्काल जोड्ने गरी काम धमाधम भइरहेको छ । हाल खुम्बु प्रवेश मार्ग सुर्केसम्म सडक निर्माण भइसकेको छ अबको छ महिनाभित्र सडकले लुक्ला जोड्ने योजना छ । त्यसमा पनि ग्राभेल र कालोपत्रेको काम अघि बढाएर सुरक्षित यात्रा गराउने तयारीमा छौं । त्यसपछि ढुवानी समेत सहज हुने भएपछि बजारमूल्यमा समेत सुधार आउनेछ । अनि इन्टरनेट र टेलिफोनलाई प्रभावकारी रुपमा सेवा दिन नेपाल टेलिकमसँग माग गरेका छौं । हेलिकप्टरहरु रेस्क्यु प्रयोजन भन्दै जथाभावी उडान र अवतरणका कामलाई समेत व्यवस्थित गर्न कार्यविधि तयारीमा जुटेका छौं ।

१२. नयाँ नयाँ हिमालको प्रवर्धनमा गाउँपालिकाले केही काम गरेको छ ?

- खुम्बुको वडा नम्बर ५ थामेमा रहेको नयाँ आरोहण नभएको हिमाल आरोहण गर्ने काम सुरु भएको छ यो स्थानीय सरकारको सहयोगमा भए पनि सङ्घीय सरकारको लागि पर्वतारोहण पर्यटन प्रवर्धनमा एउटा इँटा थप हुने विश्वास छ, यस्ता कार्य निरन्तर गर्ने योजना छ । 

१३. खुम्बुबासीको सहयोग कस्तो छ ?

-  यस अघि पाँच वर्ष वडा अध्यक्ष भएर काम गरे त्यसपछि अध्यक्ष भएर काम गर्ने अवसर पाएको छु खुम्बुबासीको सहयोग छ । राज्य संयन्त्र सङ्घीयता गए पनि कर्मचारीको मानसिकतामा परिवर्तन नआएको पाएको छु त्यसैले भनेअनुसार काम अघि बढाउन चुनौती बनेको छ । तर जनताको  मतको कदर गर्दै खुम्बु क्षेत्रको समृद्धिका लागि हरदम प्रयासरत छु । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर