नेभिगेसन मेनु

अभावमा चल्दै सामुदायिक विद्यालय
समय:2026-11-26 12:30

87612110-0fb1-4b87-bae6-b1035d487482

सुर्खेतको लेकबेँसी नगरपालिका–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका जीर्ण भवन र अपर्याप्त कक्षाकोठाका कारण समस्या झेल्न बाध्य छन् ।

बालशिक्षादेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत रहे पनि पर्याप्त शिक्षक र भौतिक पूर्वाधार नहुँदा पठनपाठन प्रभावित हुँदै गएको छ । कर्णालीमा अन्य सामुदायिक विद्यालयको अवस्था पनि उस्तै छ । 

विद्ययालमा शिशुकक्षा र कक्षा १, २, ३ का बालबालिका चिसोमा प्रायः खुला चौरमा बसेर पढ्छन् । यस्तै विद्यालयले बर्सौंदेखि शिक्षक अभाव बेहोर्दै आएको छ । भौतिक पूर्वाधारको पनि उस्तै अवस्था छ । पर्याप्त कक्षाकोठा, सिकाइ सामग्री र खेल मैदान जस्ता शैक्षिक पूर्वाधार छैनन् । दरबन्दी अनुसारको जनशक्ति नहुँदा पठनपाठनमा निकै समस्या भएको छ । माध्यमिक तहसम्म पढाइ सञ्चालन भइरहेको विद्यालयमा स्थायी दरबन्दी अनुरूपका शिक्षक छैनन् । 

विद्यालय विसं २०३० मा स्थापना भएको हो । २०५७ सालदेखि कक्षा थप गरेर निम्नमाध्यमिक तह सञ्चालन गरिएको थियो । २०६७ मा कक्षा वृद्धि गरेर माध्यमिक तह सञ्चालन गरिएको सहप्रधानाध्यापक पार्वती पोखरेलले बताउनुभयो । माध्यमिक तहमा दरबन्दी अनुसारका शिक्षक नहुँदा समस्या भएको उहाँले जानकारी दिनुभयो । लेकबेँसी नगरपालिकाका अन्य कैयौँ विद्यालयको हालत पनि यस्तै छ ।

शिक्षक र शैक्षिक वातावरणको अभावमा सिकाइ उपलब्धिसमेत अपेक्षित हुन नसकेको शिक्षक बताउँछन् । कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीको नियमिततासमेत छैन । विद्यालयमा अपाङ्गमैत्री संरचना छैनन्, सबै जसो विद्यालयमा खानेपानी, शौचालय जस्ता आधारभूत पूर्वाधार कमी छ । 

नगरपालिकाले भने शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजन गर्ने योजनालाई प्राथमिकतामा राखेको जनाएको छ । पालिकामा रहेका विद्यालयमा शिक्षक र भौतिक संरचना नभएको गुनासो बढ्न थालेपछि सुधारका लागि अहिले अनुगमन थालिएको नगरप्रमुख उमेशकुमार पौडेलले बताउनुभयो । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले विद्यालयको समग्र सुधारका लागि अनुगमन भएको र सोही अध्ययनका आधारमा व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकामा शैक्षिक उपलब्धि हासिल गर्नका लागि काम गर्ने भन्दै दरबन्दी मिलान, विद्यालय समायोजन र तह घटुवा गर्ने गरी विभिन्न काम भइरहेको बताउनुभयो । 

नगरप्रमुख उमेशकुमार पौडेलका अनुसार खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजना निर्माण गरिएको छ । उहाँका अनुसार सामुदायिक विद्यालयको सिकाइ गुणस्तर वृद्धिका लागि तालिम, विद्यालयमा डिजिटल सिकाइको वातावरण निर्माण गरिएको छ । 

विभिन्न अध्ययनले अन्य प्रदेशको तुलनामा यहाँको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिसमेत कमजोर भएको देखाएको छ । सार्वजनिक शिक्षामा आवश्यक लगानीसमेत हुन नसकेको मध्यपश्चिम विश्वविद्यालयका सहप्रध्यापक ललितजङ्ग शाहीले बताउनुभयो । शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिए विद्यालय नै रित्तो हुने अवस्थामा रहेको बताउनुभयो । विद्यार्थी र अभिभावकको रोजाइ निजी विद्यालयतिर रहेको भन्दै उहाँले सरकारले सामुदायिक विद्यालय सुधारको पहल नगरे थप समस्या हुने जानकारी दिनुभयो ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी