नेभिगेसन मेनु

रिचार्ज पोखरीले फेरियो गाउँ
समय:2026-11-24 13:32

33432

नवलपुरको हुप्सेकोट गाउँपालिका–४, शङ्खदेवमा पानीको स्रोत संरक्षणका लागि निर्माण गरिएका रिचार्ज पोखरीले स्थानीयको खानेपानी र सिँचाइको समस्या समाधान गर्न सहयोग पुर्‍याएको छ । पोखरी निर्माणपछि सुकेका मुहानमा पानी फर्किएको छ भने स्थानीय व्यावसायिक तरकारी खेतीमार्फत आत्मनिर्भर बन्न थालेका छन् । 

डब्लुडब्लुएफमार्फत सहमति संस्थाको सहयोगमा प्रकृतिमा आधारित समाधान कार्यक्रम अन्तर्गत आर्थिक तथा प्राविधिक काम भएको हो । जोल्टे पोखरी सामुदायिक वनभित्र साना–ठुला गरी १५ वटा पानी जम्मा हुने रिचार्ज पोखरी बनाइएका छन् । ती पोखरीमा बर्सात र खोल्साको पानी जम्मा गरिन्छ । 

माथिल्लो भागमा रिचार्ज पोखरी निर्माण गरेको दुई वर्षपछि तल्लो बस्तीमा हिउँदमा सुक्ने कुवामा समेत पानी आउन थालेको जोल्टे पोखरी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष रूपा रानामगरले बताउनुभयो । ‘‘खानेपानीको सिरानमा संरक्षण पोखरी बनाएपछि मुहान बढेको छ । जस्तोसुकै खडेरीमा पनि पानीको अभाव हुँदैन । पहिले २०/२२ घरधुरी हुँदा पनि पानीको अभाव थियो । अहिले २३३ घरधुरी हुँदा पनि अभाव छैन । चौबिसै घण्टा पानी आउँछ,’’ रानाले भन्नुभयो ।

जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा रहेका सिमसार र तालतलैया सुक्दै जान थालेका छन् । मानवबस्ती आसपासका तालतलैया संरक्षणमा धेरैको चासो हुने गरे पनि वनभित्रका पानीका स्रोत संरक्षणमा भने खासै ध्यान नदिएको स्थानीयको गुनासो छ । उहाँका अनुसार पानी र आहारको खोजीमा वन्यजन्तु बस्ती पस्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने गरेको छ । यसलाई कम गर्ने उद्देश्यले गुन्द्रही ढकाहा सामुदायिक वन मध्यवर्ती समितिले वनभित्र वन्यजन्तुका लागि कृत्रिम ताल निर्माण गरेको छ । यसले जङ्गली जनावरलाई पानी पिउन र आहाल बस्न सहज बनाउनुका साथै वरपरका पानीका स्रोत संरक्षणमा पनि टेवा पुगेको समितिका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । 

अहिले नारायणी नदी पनि प्रदूषित भएकाले थुप्रै प्रजातिका जीवजन्तु घटेको उहाँको भनाइ छ । ‘‘पानीका स्रोत संरक्षणबिना वनको अस्तित्व रहँदैन, त्यसैले वनमा बस्ने दुर्लभ पाटेबाघ, एकसिङे गैँडा, चित्तल, बँदेल, घिस्रिने प्रजातिका जीवजन्तु, चराचुरुङ्गीलाई सफा पानी पिउनका लागि यो ताल निर्माण गरेका हौँ,’’ महतोले भन्नुभयो, ‘‘सामुदायिक वन आफैँले ठुलो लगानीमा ताल बनाउन सक्ने अवस्था पनि थिएन । अहिले पर्यटकले पनि सहजै जनावर हेर्न पाएका छन् ।’’ घिस्रिने प्रजातिलाई लामो बाटो ओहोरदोहोर गर्न गाह्रो हुने भएकाले सोही क्षेत्रमै ताल बनाएर सहजता प्रदान गरेको महतोले बताउनुभयो । ८९४ हेक्टरमा फैलिएका यहाँका पाँच वटा सामुदायिक वनमा सिमसार व्यवस्थापन गरेको मध्यवर्ती समितिले जनाएको छ । 

सामुदायिक वन संरक्षणसँगै उपभोक्तालाई अर्गानिक खेती, माछापालन, बाख्रापालन, मौरीपालन र आफ्नो रुचि अनुसारका पेसा व्यवसाय गर्न प्राविधिक तथा आर्थिक सहयोग गरिएको प्रकृतिमा आधारित समाधान कार्यक्रमका संयोजक शिव सुवेदीले बताउनुभयो । ‘‘पानीका स्रोत संरक्षण गर्दा सिँचाइ गर्न सहज भयो । सिँचाइ भएपछि उपभोक्ताले विषादीरहित तरकारी उत्पादन गर्नुभएको छ,” सुवेदीले भन्नुभयो । वन संरक्षणसँगै व्यावसायिक खेतीबाट आम्दानी हुन थालेपछि उपभोक्ता पानीका मुहान संरक्षणमा जागरुक हुन थालेका छन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी