
पुस्तौँदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व नपाउँदा असुरक्षित महसुस गर्दै आएका सल्यानको छत्रेश्वरी गाउँपालिका–६, लान्तीका बादी समुदायले लालपुर्जाको माग गरेका छन् ।
लामो समयदेखि बसोबास गर्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका नौ घरपरिवारले सल्यान भ्रमणमा रहेकी महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीसँग भेट गरी आफूहरूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्न माग गरेका हुन् ।
उनीहरूले लालपुर्जासँगै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर उपलब्ध गराउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । २०४८ सालदेखि लान्तीमा बसोबास गर्दै आए पनि अहिलेसम्म लालपुर्जा पाउन नसकेको ६७ वर्षीय गमबहादुर बादीले बताउनुभयो ।
लालपुर्जाका लागि पटक पटक सम्बन्धित निकायमा धाउँदा पनि समस्या समाधान हुन नसकेको उहाँले जनाउनुभयो । बादी समुदायकी ७० वर्षीय टिकी बादीले आफ्नै समुदायकी छोरी मन्त्री बनेकोमा खुसी व्यक्त गर्दै अब समस्या समाधान हुने आशा व्यक्त गर्नुभयो ।
सोही समुदायकी कल्पना बादीले जग्गाको स्वामित्वसँगै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सुनिश्चित गर्न माग गर्नुभयो । समुदायका समस्या बुझ्न घरदैलोमा पुगेकी मन्त्री बादीले भूमिहीनलाई जग्गा उपलब्ध गराउन आवश्यक तयारी भइरहेको र त्यसलाई छिट्टै कार्यान्वयनमा लैजाने बताउनुभयो । उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दलित र बादी समुदायको आवश्यकता पहिचान गरी मागमा आधारित कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्धा केसीले पालिकाभित्रका महिला तथा सीमान्तकृत समुदायका समस्या समाधान गर्न सङ्घीय सरकार र स्थानीय तहबिच सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभयो । शारदा नगरपालिका–१, शान्तिनगर र छत्रेश्वरी गाउँपालिका–६, लान्तीमा गरी जिल्लामा २० घरपरिवार बादी समुदायको बसोबास रहेको छ । लामो समयदेखि जग्गाको स्वामित्वको पर्खाइमा रहेका उनीहरूले सरकारले आफ्नो समस्या समाधान गर्ने अपेक्षा गरेका छन् ।











