
कर्णाली राजमार्ग अन्तर्गत नाग्म–जुम्ला सडकखण्डको क्षेत्राधिकार अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरिएको छ । सडकको क्षेत्राधिकार मिचेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचनाका कारण सडक साँघुरो हुनुका साथै यातायात सञ्चालनमा समेत समस्या हुन थालेपछि सडक डिभिजन कार्यालय जुम्लाले अतिक्रमित संरचना हटाउन थालेको हो । मङ्सिर ७ गतेदेखि सडक डिभिजन कार्यालय जुम्लाले अतिक्रमित संरचना हटाउने अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत तिला गाउँपालिका–३, कुडारी बजार क्षेत्रमा सडकको क्षेत्राधिकार अतिक्रमण गरी निर्माण गरिएका टहरा भत्काउने कार्य गरिएको छ । नमुनाका रूपमा कुडारी बजारबाट संरचना हटाउने काम सुरु गरिएको कार्यालयले जनाएको छ ।
सार्वजनिक सडकको संरक्षण, सडक सुरक्षा, यातायात सञ्चालनमा सहजता तथा सडक क्षेत्रको उचित व्यवस्थापन गर्ने उद्देश्यले अतिक्रमित संरचना हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताउनुभयो ।
सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडकको क्षेत्राधिकारभित्र निर्माण गरिएका संरचना हटाउने प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । महताराका अनुसार नाग्म–जुम्ला सडकखण्डमा मात्रै नभई आगामी दिनमा कालीकोट, जुम्ला र मुगु जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्रमा रहेका अतिक्रमित संरचनासमेत हटाइने छ ।
सडकको क्षेत्राधिकार मिचेर निर्माण गरिएका सबै संरचना हटाउने कार्यालयको योजना रहेको उहाँले जानकारी दिनुभयो । यसका लागि सम्बन्धित क्षेत्रका स्थानीयवासी तथा संरचना निर्माण गरेका व्यक्तिलाई सार्वजनिक सूचना जारी गरी अतिक्रमित संरचना आफैँ हटाउन अनुरोध गरिने कार्यालयले जनाएको छ ।
सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरी नहटाएमा कार्यालय आफैँले हटाउने तयारी गरेको छ । राजमार्गको क्षेत्राधिकार मिचेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचनाले सडक साँघुरो बनाउनुका साथै सवारीसाधन आवतजावतमा कठिनाइ सिर्जना गर्दै आएका छन् ।
विशेष गरी बजार क्षेत्र तथा बस्तीआसपासका सडकमा जथाभावी निर्माण गरिएका संरचनाका कारण ठुला सवारीसाधन सञ्चालन गर्न, सवारीसाधन मोड्न तथा पैदलयात्रीलाई आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । सडकको क्षेत्राधिकारभित्र संरचना निर्माण हुँदा सडक विस्तार, मर्मतसम्भार, नाली व्यवस्थापन तथा सडक सुरक्षामा समेत अप्ठेरो हुने गरेको छ ।


















