
प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।
प्रधानमन्त्रीको भ्रमणदलमा बिजनेस डेलिगेसनका सदस्यका रूपमा सम्मिलित होटेल सङ्घ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजङ्ग पाण्डेले जारी गर्नुभएको संयुक्त वक्तव्यमा यस्तो बताइएको हो । विज्ञप्तिमा भैरहवा एयर रुट, अयोध्या–जनकपुर रेल सेवालगायत पर्यटकीय महत्वका विभिन्न सर्किटको सञ्जालबाट भारतीय पर्यटकको नेपाल आगमन सङ्ख्या दोब्बरले वृद्धि गर्न सकिने उल्लेख छ ।
दुवै मुलुकका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबिच भएका छलफल, समझदारी तथा १० बुँदे अवधारणापत्रमा दुई देशका जनताबिचको आपसी सम्बन्ध मजबुत र व्यापक बनाउन पर्यटन क्षेत्रको महत्व र यसबाट प्राप्त हुने आर्थिक समृद्धिको विषय उल्लेख हुनु स्वागतयोग्य भएको जनाइएको छ । दुवै देशका उद्योगी व्यवसायीहरू सम्मिलित बिजनेस डेलिगेसन सहभागी रहेको नयाँ दिल्लीमा सम्पन्न नेपाल–इन्डिया बिजनेस राउन्ड टेबलमा समेत द्विपक्षीय पर्यटन प्रवर्धनको विषयले महत्व पाउनु उल्लेखनीय रहेको जनाइएको छ ।
विज्ञप्तिमा प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायीहरूले भारतीय समकक्षी तथा सरोकार व्यक्तिसँग नेपालको पर्यटन विकास गर्न महत्वपूर्ण छलफल तथा सम्बन्ध विस्तार गरेको पनि जनाइएको छ । “भ्रमणका अवसरमा दुई देशी बिच भएको समझदारीको १० बुँदामध्ये अयोध्या–जनकपुर रेल सञ्चालनले जनकपुरलगायत नेपालको पर्यटन विकासमा ठुलो प्रभाव पार्ने छ,” विज्ञप्तिमा भनिएको छ, “यस अवसरको पूर्ण लाभ लिन सङ्घीय, प्रदेश सरकार तथा सरोकारवाला निजी क्षेत्रले योजनाबद्ध रूपमा जनकपुरमा आउने भारतीय पर्यटकलाई काठमाडौँ, पोखरा, मुक्तिनाथ, चितवन, लुम्बिनीलगायतका अन्य गन्तव्यमा आकर्षित गर्ने व्यवस्था गरी अझ बढी फलदायी बनाउनु पर्छ ।”
















