नेभिगेसन मेनु

चिया बिक्री नहुँदा झाडी बन्दै बगान
समय:2026-11-26 12:24

Untitled-1 (1)

कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्थ्यो ।     

त्यस क्षेत्रका किसानले चियाबाटै आफ्नो भविष्य बदल्ने सपना देखेका थिए । अन्य बाली छाडेर चिया खेतीमा लागेका किसानले यसैबाट राम्रो आम्दानी हुने आशा गरेका थिए । अहिले ती चियाका बोट किसानको बेवास्तामा परेको पाइएको छ । बजारमा बिक्री नभएपछि किसानले बगानबाट चिया टिप्नै छाडेका छन् ।     

बर्सौंदेखि गोडमेल र छाँटकाँटविहीन बनेका चिया बगान अहिले झाडीमा परिणत भएका छन् । विसं २०५५ देखि २०७२ सम्म चिया खेती विस्तार गरेका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा चिया खेती लगाउनुभएको थियो तर समय बित्दै जाँदा उहाँले सोचे अनुसार चियाको मूल्य र बजार पाउन सक्नुभएन । उत्पादन बिक्री नभएपछि खेतीमा गरेको लगानीसमेत उठाउन नसकिएको उहाँको गुनासो छ । “चिया बिक्री नभएपछि बगानको गोडमेल र छँटाइ गर्नसमेत छाडेका छौँ,” उहाँले भन्नुभयो, “मजदुर लगाएर काम गराउँदा झन् खर्च बढ्छ । उत्पादनको मूल्य नै नपाएपछि बगानको हेरचाह गरेर के गर्नु ?”     

स्थानीय सरकारले चिया किसानलाई आवश्यक सहयोग र बजार व्यवस्थापनमा पर्याप्त चासो नदिँदा किसान थप निराश बनेको थापाले बताउनुभयो । बर्सौंको मेहनत र लगानीबाट तयार भएका चियाका बोट अहिले बगानमै खेर गइरहेको थापाको भनाइ छ । यस्तो समस्या भोग्ने कृषक थापा मात्रै होइन, पाख्रीबासका अर्का किसान धनबहादुर बस्नेतको समस्या पनि उस्तै छ । करिब १० रोपनी क्षेत्रफलमा चिया खेती गरेका बस्नेतले उत्पादन बिक्री नहुँदा बगानको नियमित हेरचाह गर्नसमेत सक्नुभएको छैन । तीन/चार वर्षदेखि छाँटकाँट र गोडमेल नहुँदा चियाका बोट बढेर जङ्गल जस्तै बनेका छन् ।     

उत्पादन बिक्री नहुने र बगान व्यवस्थापन गर्दा थप खर्च लाग्ने भएपछि किसान दोहोरो मारमा परेका छन् । अहिले पुरानो चिया बगान हटाएर अन्य बाली लगाउने सोच बनाए पनि त्यसका लागि आवश्यक खर्च जुटाउन कठिन रहेको बस्नेतको भनाइ छ ।     

पाख्रीबासकै अर्का किसान विमल राईले पनि १५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक चिया खेती गर्नुभएको छ तर उद्योगले आफूले अपेक्षा गरे अनुसारको मूल्य नदिँदा उहाँ पनि समस्यामा पर्नुभएको छ । चिया बिव्रmी नभएपछि करिब तीन वर्षदेखि बगानको गोडमेल र छाँटकाँट गर्न नसकेको राईले बताउनुभयो । उत्पादन भएको चियाको उचित बजार र मूल्य पाउनु मुख्य चुनौती बनेको राईले बताउनुभयो । बजार सुनिश्चित नहुँदा खेतीमा लगानी गर्ने उत्साह घट्दै गएको छ । बर्सौंसम्म हुर्काएका बोट उपयोगविहीन बन्न थालेपछि किसानको लगानी पनि खेर गइरहेको छ ।     

आम्दानीमा असर     

स्थानीय किसानले उत्पादन गरेको चिया प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्थाले केही वर्षअघिसम्म उद्योग सञ्चालन गर्दै आएको थियो । उक्त उद्योगमा स्थानीय किसानले चिया बिक्री गर्दै आएका थिए । उद्योगमा किसानले उत्पादन गरेको चियाबाट ग्रिन टी, ब्ल्याक टी र ह्वाइट टीलगायतका विशेष प्रकारका चिया उत्पादन गरिँदै आएको थियो । स्थानीय उत्पादनलाई प्रशोधन गरेर बजारसम्म पु-याउने कामले किसानमा चिया खेतीप्रति उत्साह पनि बढाएको थियो ।     

उद्योग सञ्चालनमा विद्युत् सेवा नपुग्दा लामो समयसम्म जेनेरेटरको भर पर्नु प-यो । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएपछि उद्योगले सञ्चालन खर्च धान्न नसकेर बन्द भएपछि त्यसको प्रत्यक्ष असर स्थानीय चिया किसानमा परेको छ । उद्योग बन्द भएपछि किसानले उत्पादन गरेको चिया खरिद गर्ने भरपर्दो ठाउँ नै नपाएपछि किसानले चिया बिक्री गर्न पाएका छैनन् । त्यसयता चिया बगानको नियमित हेरचाहदेखि उत्पादन बिक्रीसम्मका समस्या बढ्दै गएको किसानको भनाइ छ ।     

 

अन्य बाली छाडेर चिया खेतीमा भविष्य खोजेका किसान अहिले बोट हेर्दै निराश हुनुपर्ने अवस्थामा पुगेका छन् । चिया उद्योग सञ्चालनका लागि पाख्रीबास नगरपालिकाले पहल नगरेको किसानको गुनासो छ । नगरपालिकामा उद्योग सञ्चालनका लागि माग आएको भए पनि बजेट अभावका कारण केही गर्न नसकेको पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले बताउनुभयो । उहाँले किसानले ठुलो बजेट माग गर्ने तर नगरपालिकासँग सानो सहयोग गर्ने अवस्था पनि नरहेको बताउनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी