नेभिगेसन मेनु

क्षति पुगेको २५ वर्षपछि बन्यो वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन
समय:2026-11-25 12:07

new-police-office-

 सशस्त्र द्वन्द्वका क्रममा क्षति पुगेको २५ वर्षपछि वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन निर्माण भएको छ ।

२०५८ मङ्सिर ८ गते तत्कालीन विद्रोही नेकपा (माओवादी)को आक्रमणबाट क्षति पुगेको भवन भत्काएर सङ्घीय सरकारले नयाँ भवन निर्माण गरेको हो ।

आक्रमणपछि क्षतिग्रस्त भवन मर्मत गरी प्रहरीले सोही भवनबाट सेवा प्रदान गर्दै आएको थियो । नयाँ भवन निर्माण सुरु भएपछि भने सँगै रहेको अर्को भवनबाट प्रहरी कार्यालयले सेवा दिँदै आएको थियो ।

२०८२ असोज ३० गते सपना सुन्दरी जेभी, रूपन्देहीले सरकारसँग तीन करोड ७० लाख ५९ हजार ६५६ रुपियाँ ६ पैसा लागतमा सम्झौता गरी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको थियो । निर्माण कम्पनीले सम्झौताअनुसार निर्धारित समयमै भवन निर्माण सम्पन्न गरेको हो ।

आठ आना जग्गामा निर्माण गरिएको तीनतले भवनमा हावा घर, पानी ट्याङ्की र सेफ्टी ट्याङ्कीसमेत निर्माण गरिएको छ । नयाँ भवनमा कार्यालय प्रमुखको कार्यकक्ष, थुनुवा तथा हिरासत कक्ष र कार्यालय प्रमुखको आवासको व्यवस्था गरिएको छ ।

भवन निर्माण सम्पन्न भए पनि नयाँ भवनबाट सेवा सुरु भइसकेको छैन । वडा प्रहरी कार्यालय वालिङका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले अबको एक महिनाभित्र आवश्यक व्यवस्थापनका काम पूरा गरी नयाँ भवनबाट सेवा सुरु गरिने बताउनुभयो ।

उहाँले अहिले साँघुरो ठाउँबाट धेरै सेवा प्रदान गर्नुपरेको उल्लेख गर्दै नयाँ भवनबाट सेवा प्रवाह सहज र व्यवस्थित हुने बताउनुभयो ।

वालिङमा २०२१ सालमा अस्थायी प्रहरी चौकी स्थापना गरी प्रहरी सेवा सुरु गरिएको थियो । त्यसपछि प्रहरी चौकी र इलाका प्रहरी कार्यालय हुँदै यो वडा प्रहरी कार्यालयका रूपमा विकास भएको हो ।

वडा प्रहरी कार्यालय वालिङको कार्यक्षेत्रमा गल्याङ, वालिङ र भीरकोट नगरपालिका तथा कालीगण्डकी गाउँपालिका रहेका छन् । यस कार्यालयअन्तर्गत १३ वटा प्रहरी कार्यालय तथा युनिट सञ्चालनमा छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी