
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन सर्वपक्षीय तथा सर्वदलीय छलफल गरिएको छ ।
प्रतिष्ठानले प्रदान गर्दै आएको स्वास्थ्य सेवामा देखिएका कमजोरी सुधार्दै सेवा विस्तार गर्ने उद्देश्यले आइतबार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, पूर्वमन्त्री, नागरिक समाज तथा विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गरिएको हो । छलफलमा प्रतिष्ठानको वर्तमान अवस्था, स्वास्थ्य सेवाको गुणस्तर, जनशक्ति अभाव, भौतिक पूर्वाधार, औषधी तथा उपकरणको उपलब्धता र आगामी योजनाबारे समीक्षा गरिएको छ ।
सहभागीले प्रतिष्ठानलाई सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्ने र जटिल रोगको उपचार सहज रूपमा गर्न सक्ने सक्षम स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङ्बोले हालसम्मको सेवा प्रवाह र उपलब्धिबारे जानकारी गराउँदै प्रतिष्ठानको कार्यक्षेत्रभित्र पर्ने १३ जिल्लामध्ये जुम्लाका नागरिकले सबैभन्दा बढी स्वास्थ्यसेवा लिइरहेका बताउनुभयो । अन्य जिल्लाको तुलनामा जुम्लाका नागरिक प्रतिष्ठानको सेवाबाट बढी लाभान्वित भएको उहाँको भनाइ छ ।
उहाँले आगामी दिनमा प्रतिष्ठानको सेवा कार्यक्षेत्रभित्र पर्ने अन्य जिल्लामा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । हिमाली तथा दुर्गम जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले सेवा विस्तार र सुधारलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानका रजिस्ट्रार प्रकाशचन्द्र खत्रीका अनुसार तीन सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र आधुनिक उपकरणको अभाव छ । सीमित स्रोतसाधनमा सेवा प्रभावकारी बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार प्रतिष्ठानले डिजिटल प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिँदै टेलिमेडिसिन सेवा सुरु गरेको छ । छलफलमा सहभागी नागरिक तथा सरोकारवालाले भने प्रतिष्ठानको सेवा नागरिकको अपेक्षा अनुसार अझै सहज, सुलभ र भरपर्दो हुनुपर्ने उल्लेख गरेका छन् ।
पूर्वराज्यमन्त्री गोमा कुँवर र बलबहादुर महतले प्रतिष्ठानलाई उपचारसेवामा मात्र सीमित नराखी स्वास्थ्य अनुसन्धानको क्षेत्रमा समेत सक्रिय बनाउनुपर्ने धारणा राख्नुभयो ।
पूर्वमन्त्री नरेश भण्डारीले हिमाली क्षेत्रमा स्थापना भएको प्रतिष्ठानलाई स्वास्थ्यसेवाको क्षेत्रमा देशकै नमुना संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठान स्थापनाको मूल मर्म र उद्देश्य अनुसार नागरिकलाई गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।


















