
सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था अझै अपेक्षित रूपमा सुधार हुन सकेको छैन । प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ७२ वटा पालिकामा अहिलेसम्म मानव अधिकार समन्वय समितिसमेत गठन हुन सकेको छैन ।
नेपाल सरकारको मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०८३/८४–२०८७/०८८) कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहमा अनिवार्य रूपमा समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था छ । कार्ययोजना कार्यान्वयनमा स्थानीय सरकार उदासीन देखिँदा हालसम्म प्रदेशका १६ वटा स्थानीय तह र दुई वटा जिल्ला समन्वय समितिले मात्र समिति गठन गरेको तथ्याङ्क छ ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको विवरण अनुसार कञ्चनपुरका छ, अछामका तीन, डोटी र बैतडीका दुई/दुई तथा कैलाली, डडेलधुरा र दार्चुलाका एक/एक स्थानीय तहमा मात्र समिति गठन भएको छ । जसमा कञ्चनपुरको वेदकोट, कृष्णपुर, पुनर्वास र दोधारा चाँदनी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिका रहेका छन् ।
त्यसै गरी अछामका बन्नीगढी जयगढ, रामारोशन र चौरपाटी गाउँपालिका, डोटीका बडीकेदार र केआइसिंह गाउँपालिका तथा बैतडीका मेलौली र पाटन नगरपालिकामा समन्वय समिति गठन भइसकेको छ । डडेलधुराको भागेश्वर गाउँपालिका, दार्चुलाको मर्मा गाउँपालिका र कैलालीको भजनी नगरपालिकामा पनि समिति बनेको छ ।
जिल्ला स्तरमा डडेलधुरा र दार्चुलाको जिल्ला समन्वय समितिको कार्यालयमा समिति गठन भइसकेको छ भने जिल्ला समन्वय समिति डोटीले यथाशीघ्र समिति गठन गरी जानकारी गराउने भनी पत्राचार गरेको छ । कैलालीको टीकापुर नगरपालिकाले भने प्रमुख र उपप्रमुखको पद रिक्त रहेका कारण समिति गठन गर्न नसकिएको जानकारी गराएको छ । बझाङ र बाजुरा जिल्लाबाट भने समिति गठनको कुनै विवरण प्राप्त नभएको राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका मानव अधिकार अधिकृत दैवज्ञराज न्यौपानेले बताउनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहलाई समित गठन गर्न पत्राचार गरिए पनि हाल १६ वटाले मात्रै समिति गठन गरेको बताउनुभयो ।
प्रमुख चुनौती र कानुनी व्यवस्था
प्रदेशमा विशेष गरी महिला हिंसा, बाल अधिकार हनन, जातीय विभेद तथा छाउपडी जस्ता सामाजिक कुरीतिका कारण मानव अधिकारको व्यावहारिक अवस्था चुनौतीपूर्ण देखिएको छ । गरिबी, अशिक्षा तथा समाजमा जरा गाडेर बसेको छाउपडी, बालविवाह र जातीय विभेद जस्ता परम्परागत कुरीति कायमै रहँदा नागरिकले मौलिक हकको पूर्ण उपभोग गर्न नपाएको राष्ट्रिय मानव अधिकारी आयोगको प्रतिवेदनले औँल्याएको छ ।
संविधानले महिला, बालबालिका, दलित, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक कुरीति नियन्त्रणका लागि आवश्यक कानुन तथा कार्यविधि बनाउने स्पष्ट जिम्मेवारी स्थानीय तहलाई दिएको छ तर स्थानीय तहले यस विषयमा पर्याप्त चासो नदेखाएको राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्टले बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका अवशेष, बालविवाह, घरेलु हिंसा, बलात्कार, जातीय विभेद, बालश्रम र जन्मदर्ताको अभावलाई मुख्य चुनौतीका रूपमा चित्रण गरेको छ । प्रदेशभर एउटै मात्र बाल सुधारगृह हुँदा क्षमताभन्दा बढी बालक राख्नुपर्ने बाध्यता र सुस्त न्यायिक प्रक्रियाका कारण पीडितले समयमै न्याय पाउन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालको संविधानको भाग–३ मा मौलिक हकको प्रत्याभूति गरिएको छ भने अनुसूची–६ ले प्रदेश सरकारलाई प्रदेशभित्रको शान्तिसुरक्षा, सामाजिक न्याय र मानव अधिकार संरक्षणसम्बन्धी कानुन निर्माण गर्ने अधिकार प्रदान गरेको छ । संवैधानिक व्यवस्थाबमोजिम सुदूरपश्चिम प्रदेश सरकारले ‘दलित सशक्तीकरण ऐन, २०७८’ (पहिलो संशोधन, २०८२), ‘प्रदेश बालबालिकासम्बन्धी ऐन, २०७७’ तथा विपन्न र सीमान्तकृत समुदायका लागि ‘जनता सुरक्षित आवास कार्यक्रम’ जस्ता नीति तथा कार्यक्रम ल्याए पनि व्यवहारमा लागु हुन सकेको छैन । नागरिकको घरदैलोको सरकार मानिने स्थानीय तहको उदासीनताका कारण ती नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाको गुनासो छ ।


















