
पूर्वाधार विकासमा प्रदेश सरकारले लक्ष्य अनुरूप काम गर्न सकिरहेको छैन । यो वर्ष पनि कर्णाली प्रदेश सरकारले आयोजना कार्यान्वयनमा आफ्नो लय समात्न सकेन ।
चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले लक्ष्यबमोजिम काम गर्न सकेको छैन । मन्त्रालयले हालसम्म करिब तीन प्रतिशत आयोजना मात्रै कार्यान्वयन प्रक्रियामा लैजान सकेको छ ।
यस वर्ष मन्त्रालयमातहत ४२२ वटा नयाँ कार्यान्वयन गर्नुपर्ने र स्रोत सहमति लिएर ठेक्का लगाउनुपर्ने १०८ वटा गरी कुल आयोजना सङ्ख्या ५२८ वटा रहेको छ । नयाँ कार्यान्वयन गर्नुपर्ने योजनामध्ये ३८५ वटा सडक निर्माण, दुई वटा मोटरेबल पुल, तीन वटा झोलुङ्गे पुल, सरकारी भवन, आवास तथा सामुदायिक भवनतर्फ १४ वटा र सडकलगायत पूर्वाधारको आकस्मिक तथा नियमित मर्मततर्फ १८ वटा आयोजना तथा कार्यक्रम छन् ।
हालसम्म जम्मा १२ वटा योजना मात्रै ठेक्का प्रक्रियामा अघि बढेका छन् । सडक निर्माणतर्फका आठ र बाँकी मर्मत तथा सरकारी भवनतर्फका चार आयोजना ठेक्का प्रक्रियामा गएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । स्रोत सहमति लिएर कार्यान्वयन गर्नुपर्ने आयोजना त कुनै पनि अघि बढेका छैनन् ।
जिल्ला जिल्लाका भौतिक पूर्वाधार कार्यालयको कार्यसम्पादन अवस्था दयनीय देखिएको छ । नयाँ कार्यान्वयनमा लैजानुपर्ने योजनामध्ये सुर्खेतमा ८३, दैलेखमा ५६, सल्यानमा २७, कालीकोटमा ३६, मुगुमा १८, डोल्पामा ६४ र जुम्लामा २८ वटा छन् । यस्तै रुकुमपश्चिममा ३२, जाजरकोटमा ५४ र हुम्लामा २४ वटा योजना छन् । हालसम्म ठेक्का प्रक्रियामा जाने योजनामा कालीकोटमा नौ, सुर्खेतमा दुई र हुम्लामा एउटा मात्र छन् । बाँकी जिल्लामा कुनै पनि योजना ठेक्का प्रक्रियामा जान सकेका छैनन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता प्रेमबहादुर ओलीले योजना ठेक्कामा जान नसक्नुको प्रमुख कारण विद्युतीय खरिद प्रणाली (ई बिडिङ सिस्टम) भएको बताउनुभयो । धेरै कार्यालयले ठेक्का प्रणालीमा लैजान तयारी गरेका आयोजना पनि उक्त सिस्टमका कारण अघि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । अबको १५ देखि २० दिनमा दुई सयदेखि २५० वटासम्म ठेक्का खुल्ने तयारी भइरहेको उहाँले बताउनुभयो । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले पनि यही सिस्टमका कारण ढिलाइ भएको बताउनुभयो । उहाँले प्रतिफल देखिने गरी काम गर्न लागिएकाले केही विलम्ब भएको जानकारी दिनुभयो ।
कर्णाकी प्रदेशमा सबैभन्दा धेरै बजेट भौतिक मन्त्रालयसँग छ । प्रदेशको कुल ३५ अर्ब ३९ करोड बजेटमध्ये भौतिक पूर्वाधार मन्त्रालयसँग १० अर्ब ९३ करोड २१ लाख बराबरको वार्षिक बजेट छ ।
त्यसमा विकास बजेट मात्रै १० अर्ब ५९ करोड रुपियाँ छ । यद्यपि कात्तिक मसान्तसम्म कुल बजेटको जम्मा ६.८८ प्रतिशत मात्र खर्च भएको छ । आयोजनाहरू कार्यान्वयनमा जान नसक्दाको प्रत्यक्ष असर विकास खर्चमा परेको छ ।


















