
जाजरकोटको बारेकोट गाउँपालिकामा टयाक्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–३ का २५ वर्षीय सन्देश बोहराकोे उपचारको क्रममा जाजरकोट अस्पतालमा मृत्यु भएको हो ।
बुधवार बेलुका ४ बजेको समयमा बारेकोट गाउँपालिका–१ बयाला स्थित भित्री सडक खण्ड अन्तर्गत काउली नजिक दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बुद्धीसागर पुरीका अनुसार लिम्सादेखि सक्लातर्फ जाँदै गरेको लु.प्र. ०३–००१ त ०१३० नम्बरको ट््याक्टर अचानक सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना हुदाँ ट्याक्टरमा सवार तीन जना घाइते भएका थिए ।
घाइतेमध्ये बोहराको मृत्यु भएको हो । अन्य दुई जना २८ वर्षीय राजेश बोहरा र २५ वर्षीय गोविन्द बोहराको उपचार भइरहेको उहाँले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















