
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपत् जोखिम न्यूनीकरण तथा सुरक्षित र दिगो विकासका लागि घरपरिवार र समुदायस्तरबाटै पूर्वतयारी आवश्यक रहेको बताउनुभएको छ ।
मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिकामा आयोजित ‘सुरक्षित तथा दिगो विकासका लागि पालिका मञ्च’ को छैटौँ कञ्चनपुर सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले विपत् व्यवस्थापनका लागि ठुला पूर्वाधार र नीतिगत योजनासँगै नागरिकस्तरमा सचेतना र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
यस वर्ष ‘उत्थानशीलता घरबाटै सुरु हुन्छ’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको हो । मुख्यमन्त्री भट्टले विपत् जोखिम न्यूनीकरण र दिगो विकासको वास्तविक सुरुवात प्रत्येक व्यक्तिको घर, परिवार र समुदायबाट हुनुपर्ने बताउनुभयो । विपत् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुने प्रवृत्तिभन्दा आउनुअघि नै पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र समुदायलाई सक्षम बनाउने कार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
सुदूरपश्चिम प्रदेश र विशेष गरी कञ्चनपुर जिल्ला बाढी, डुबान, नदी कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको उल्लेख गर्दै उहाँले प्रत्येक वर्ष वर्षायाममा महाकालीसहित स्थानीय नदी तथा खोलाले पुर्याउने क्षतिले जनजीवन, कृषि र पूर्वाधारमा असर पार्दै आएको बताउनुभयो ।
सङ्घीयताको मर्म अनुसार नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले विपत् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । कञ्चनपुरका नौवटै पालिकाले आपसी समन्वय, सहकार्य र योजनाबद्ध रूपमा सुरक्षित, समावेशी तथा उत्थानशील समुदाय निर्माणका लागि थालेको सामूहिक प्रयास प्रदेशकै लागि अनुकरणीय रहेको उहाँको भनाइ थियो ।
विपत् जोखिम न्यूनीकरणका सवालमा प्रदेश सरकारले विभिन्न उदाहरणीय काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले आगामी दिनमा पनि विपत् पूर्वतयारी, व्यवस्थापन र जोखिम न्यूनीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्मेलनमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधि, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । सम्मेलनले स्थानीय तहबिच अनुभव आदानप्रदान, सहकार्य र विपत् जोखिम न्यूनीकरणका लागि साझा प्रतिबद्धता निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


















