
चिसो मौसम सुरु भएसँगै उत्तरी गोरखाको चुमनुब्री क्षेत्रका बालबालिकाको दैनिकी नै फेरिन्छ । चिसो बढेपछि घर, गाउँ र आमाबुवा छाडेर बालबालिका बेँसी झर्छन् । कात्तिक दोस्रो साताबाट हिमाली भेगमा चिसो बढ्न थालेसँगै चुमनुब्री गाउँपालिकास्थित लो पेमा सम्भावा माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी छ महिनाका लागि ‘घुम्ती कक्षा’ मा झरेका छन् ।
बालबालिकालाई चिसोबाट जोगाउँदै पढाइलाई निरन्तरता दिन विद्यालयले आरुघाट गाउँपालिका–४ को आर्खेतस्थित पोखटेमा आफ्नै भवन बनाएको छ । सोही भवनमा पठनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम धमलाले बताउनुभयो ।
विद्यालयमा हाल २६० विद्यार्थी छन् । १६ जना शिक्षक तथा कर्मचारी कार्यरत यस विद्यालयमा बाल विकास (इसिडी) देखि कक्षा १० सम्मको पढाइ हुन्छ । “अहिले सबै बालबालिकालाई लिएर जाडो छल्न आरुघाट गाउँपालिकास्थित पोखटेको विद्यालयमा झरिसकेका छौँ, गर्मी लागेपछि विद्यार्थी लिएर लेक फर्किन्छौँ,” उहाँले भन्नुभयो ।
जाडोयाममा माथिल्लो क्षेत्रमा हिउँ पर्ने, तापक्रम घट्ने हुँदा कक्षा सञ्चालन गर्नै असम्भव हुन्छ । विद्यालयले वार्षिक कार्यतालिका अनुसार छ महिना माथिल्लो क्षेत्रमा र छ महिना आर्खेतस्थित पोखटेमा कक्षा चलाउँदै आएको छ ।
अत्यधिक चिसो र हिमपातका बेला माथिल्लो क्षेत्रमा कक्षा चलाउँदा बालबालिकाको स्वास्थ्यमा समस्या पर्ने गरेको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु रानाले विद्यार्थीको पढाइ वर्षभरि नै निरन्तर राख्न छ महिना गाउँ र छ महिना बेँसीमा पठनपाठन गराउने गरिएको बताउनुभयो । “घुम्ती कक्षाले एकातिर शैक्षिक सत्र नटुट्ने सुनिश्चित गरेको छ भने अर्कातिर कठिन भौगोलिक र मौसमी परिस्थितिबिच पनि बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित हुनबाट जोगाएको छ,” उहाँले भन्नुभयो ।
गर्मी सुरु भएपछि विद्यालय फेरि गाउँमै सञ्चालन हुन्छ । चुमनुब्री गाउँपालिकाका विभिन्न वडाका विद्यार्थी यही सुविधाका कारण यस विद्यालयमा पढ्न आउने गरेका छन् । उत्तरी गोरखाको यो समस्या लो पेमा सम्भावा माविमा मात्र छैन । सेरेङ्गे गुम्बाका विद्यार्थीलाई पनि चिसो छल्न केही तल झार्ने गरिएको छ । कात्तिकदेखि फागुनसम्म उत्तरी क्षेत्रमा अत्यधिक चिसो र हिमपात हुन्छ ।


















