
सप्तरीमा पछिल्लो दस दिन यता जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रुपनी गाउँपालिका र सुरुङ्गा नगरपालिकामा छुट्टाछुट्टै समयमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।
बुधबार बिहान रुपनी गाउँपालिका–६, मिलन चोकका ५३ वर्षीय शुपबहादुर श्रेष्ठको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार बिहान करिब १:३० बजे ३० देखि ३५ वटाको सङ्ख्यामा रहेका जङ्गली हात्ती श्रेष्ठको घरमा पुगेका थिए । हात्ती आएको देखेपछि घरबाट निस्केर भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रुपनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक राज यादवको नेतृत्वमा थप प्रहरी टोली खटिएको थियो ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । आक्रमणपछि हात्तीको बथान जङ्गलतर्फ गएको प्रहरीले जनाएको छ ।
प्रनाउ घिमिरेका अनुसार यसअघि गत कात्तिक २९ गते साँझ सुरुङ्गा नगरपालिका–४ स्थित बिधन सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट ७२ वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो । बिरनगर निवासी चौधरी जङ्गलमा बाख्रा खोज्न गएको समयमा हात्तीले एक्कासि आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
उपचारका लागि सिरहाको प्रादेशिक अस्पताल लहान पुर्याइएका चौधरीलाई सोही दिन राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
लगातार जङ्गली हात्तीको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि जिल्लाका वन क्षेत्र आसपासका बस्तीमा त्रास बढेको छ । विशेषगरी रातिको समयमा हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीयवासीको जनधन जोखिममा पर्ने गरेको रुपनी गाउँपालिका–६ का विजय भगतले बताउनुभयो ।
दुई जना घाइते
प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार जङ्गली हात्तीले पछिल्लो समय रुपनी गाउँपालिका–६ का नौ वटा घर तथा भान्सा संरचनामा क्षति पुर्याएको छ । हात्ती धपाउने क्रममा स्थानीय ४७ वर्षीय शिवशङ्कर यादव लडेर घाइते हुनुभएको छ । उहाँको घुँडा र हातको कुहिनामा चोट लागेको र अवस्था सामान्य रहेको घिमिरेले जानकारी दिनुभयो ।
यस्तै, अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गजेन्द्रनारायण शाह घाइते हुनुभएको वडाध्यक्ष पशुपतिप्रसाद चौधरीले जानकारी दिनुभयो । घाइते शाहको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकासहित सुरुङ्गा र खडक नगरपालिकाका बस्तीमा करिब दुई सातादेखि जङ्गली हात्तीको बथान प्रवेश गरिरहेको छ । हात्तीले स्थानीयवासीमाथि आक्रमण गर्नुका साथै धान, कोदो र आलुखेतीमा समेत क्षति पुर्याएको छ ।


















