नेभिगेसन मेनु

सुनवलका बिरामीलाई निःशुल्क रगत सेवा
समय:2026-11-25 12:15

redcross

 नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाका स्थायी बासिन्दाले अब निःशुल्क रगत प्राप्त गर्ने भएका छन् ।

नगरवासीलाई सहज र निःशुल्क रूपमा रगत उपलब्ध गराउने उद्देश्यले सुनवल नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबिच द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौताअनुसार सुनवल नगरपालिकाका स्थायी बासिन्दाले रेडक्रस रुपन्देही अन्तर्गतका रक्तसञ्चार सेवा केन्द्र तथा ब्लड बैंकबाट आवश्यक रगत र रक्ततत्व निःशुल्क प्राप्त गर्नेछन् । बिरामीले रगत प्राप्त गर्दा लाग्ने प्रतियुनिट ९५० रुपियाँ सेवा शुल्क नगरपालिकाले रेडक्रसलाई भुक्तानी गर्नेछ ।

नगरप्रमुख विमला अर्यालले आर्थिक अभावका कारण कुनै पनि नगरवासीले रगत नपाएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा नागरिकको मौलिक हक हो । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उपचारका क्रममा रगतको सेवा शुल्कले थप आर्थिक भार नपरोस् भनेर नगरपालिकाले यो जिम्मेवारी लिएको हो ।”

यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गोतामेले सम्झौताको कार्यान्वयन पक्षलाई प्रभावकारी र झन्झटरहित बनाइने बताउनुभयो । “सेवाग्राहीले तोकिएको परिचयपत्र देखाएर सहजै रगत पाउने व्यवस्था मिलाइएको छ । आकस्मिक अवस्थामा कागजात नभए पनि पछि पेस गर्दा शुल्क फिर्ता हुने भएकाले बिरामीलाई तत्काल उपचारमा कुनै बाधा पुग्ने छैन,” गोतामेले स्पष्ट पार्नुभयो । रेडक्रसले प्रत्येक महिनाको १० गतेभित्र सेवा विवरण र बिलसहितको प्रतिवेदन नगरपालिकामा पेस गरेपछि भुक्तानी प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये सुनवलसहित ४३ वटा पालिकासँग नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।

शाखाले रुपन्देहीका १६, कपिलवस्तुका १०, पाल्पाका ३ (रिब्दीकोट, रम्भा र तिनाउ), नवलपरासीका २ (सुनवल र सुस्ता), गुल्मीका ८ (रुरु, दरबारदेवीस्थान, छत्रकोट, धुर्कोट, मदाने, मुसिकोट, चन्द्रकोट र कालीगण्डकी) तथा अर्घाखाँचीका ४ (सन्धिखर्क, पाणिनी, छत्रदेव र भूमिकास्थान) पालिकामा सम्झौता गरी निःशुल्क रगत सेवा उपलब्ध गराउँदै आएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी