
हास्यप्रधान चलचित्र ‘ककाकिकी’ को विशेष प्रदर्शन (प्रिमियर) सम्पन्न भएको छ । काठमाडौँको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित समारोहमा चलचित्रका कलाकार, निर्माण समूहसहित नेपाली चलचित्र क्षेत्रका वरिष्ठ तथा चर्चित व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
विशेष प्रदर्शनमा चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मीले यसको प्रस्तुतीकरण, कथावस्तु र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका छन् । समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, वसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, कलाकार जयकिसन बस्नेत, विल्सनविक्रम राई तथा गायक शिव परियारलगायतले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा तयार भएको चलचित्रका मुख्य कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीले पनि दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताउनुभयो ।
यसैबिच केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको छ । योसँगै सबै उमेर समूहका दर्शकले परिवारसहित बसेर चलचित्र हेर्न पाउने भएका छन् । चलचित्र आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने जानकारी गराइएको छ ।


















