
सपना देख्नु जति सहज हुन्छ, त्यसलाई विपनामा बदल्न त्यति नै कठिन । धनगढीका क्रिकेट अभियन्ता सुवास शाहीले १० वर्षअघि देखेको त्यही असम्भव जस्तै लाग्ने सपनाले मूर्त रूप पाउन थालेको छ । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणको ठेक्का प्रक्रिया अगाडि बढेसँगै शाहीको एक दशक लामो सङ्घर्ष सफलताउन्मुख बनेको छ । यो सफलता केवल एक व्यक्तिको जित होइन, बरु समग्र सुदूरपश्चिमको बर्सौं पुरानो आकाङ्क्षा कार्यान्वयनको चरणमा प्रवेश गरेको सुखद क्षण बन्न पुगेको छ ।
यो अवस्थासम्म आइपुग्न शाहीले धेरै नै मेहनत गर्नु परेको छ । कैयौँ पटक सिंहदरबार धाउनु परेको छ भने थुप्रै पटक नेता र राज्यसँग आफ्ना माग बोकेर घचघच्याउनु परेको छ । शाहीको निरन्तर पहल, नेतृत्व र सङ्घर्षबाट महत्वपूर्ण उपलब्धिका रूपमा फाप्ला रङ्गशाला निर्माणको काम अगाडि बढेको छ । “बर्सौं पहिलेको हाम्रो सपना अब भने पूरा हुन थालेको छ,” शाहीले भन्नुभयो, “निरन्तरको प्रयासमा सरकारले पनि साथ दिएको छ, यसमा सम्पूर्ण सुदूरपश्चिमवासी खुसी छौँ ।” शाहीले क्रिकेटको विकास र प्रवर्धनका लागि देखाएको सक्रियता जसले धनगढीमा एसपिए कप, धनगढी क्रिकेट लिग (डिसिएल) हुँदै धनगढी प्रिमियर लिग (डिपिएल) जस्ता प्रतियोगितामार्फत धनगढीलाई क्रिकेटको सहरका रूपमा चिनाउन सफल भयो ।
“हामीले धनगढीलाई क्रिकेटको सहरका रूपमा चिनाउन थुप्रै मेहनत गरेका छौँ, चोक चोकमा गेट बनाएर होस् वा खेल हेर्न टोल टोलमा प्रचार गरेर ‘सिटी अफ क्रिकेट” का रूपमा ब्रान्डिङ गर्न सफल भयौँ,” शाहीले भन्नुभयो, “हामीले प्रतियोगितामा मात्रै होइन क्रिकेटलाई अभियानकै रूपमा सञ्चालन गरेका छौँ ।”
‘ड्रिम फाप्ला’ अभियान
सुरुमा मैदानको अभाव झेलिरहेका बेला विसं २०७१ मा अस्थायी क्रिकेट मैदानका रूपमा फाप्लाको पहिचान भयो र २०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा विकास गर्ने ‘ड्रिम फाप्ला’ अभियान अगाडि बढाइयो । धनगढीमा २०६६ सालदेखि क्रिकेटको व्यावसायिक विकास र प्रवर्धनका लागि थालिएका प्रयासले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वानको अवस्थासम्म ल्याउनुमा शाहीको अगुवाइ उल्लेखनीय छ ।
“फाप्लाको परिकल्पना गर्दा अनेकौँ चुनौती थिए, प्रश्न थिए र बाटो निकै कठिन पनि थियो,” शाहीले भन्नुभयो, “मेरो विश्वास कहिल्यै डगमगाएन, हामी फाप्ला एक दिन अवश्य निर्माण गर्ने छौँ, धनगढीलाई क्रिकेटको सहरका रूपमा विश्वमा चिनाउने छौँ, सुदूरपश्चिमको कायापलट गर्ने छौँ र नेपालको शिर विश्वसामु उँचो बनाउने छौँ ।”
उहाँको त्यो अटल विश्वासले एउटा निर्णायक उपलब्धि हासिल गरेको छ । सुरुमा बजेटमा समावेश भए पनि जग्गा प्राप्तिको जटिलताका कारण फाप्लाको थप काम अगाडि बढ्न सकेन । सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामलाई राष्ट्रिय प्राथमिकतामा राख्दै शाहीकै नेतृत्वमा विकास समिति गठन गर्ने निर्णय गर्यो । अध्यक्षको जिम्मेवारी समालेपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तथा आयोजनालाई राष्ट्रिय आयोजना बैङ्कमा समावेश गर्ने जस्ता प्राविधिक र प्रशासनिक कामलाई अघि बढाउन उहाँको भूमिका नेतृत्वदायी रह्यो । “सुरुमा जग्गा प्राप्तिकै समस्याले निर्माण प्रक्रियामा जटिलता सिर्जना भयो,” शाही भन्नुहुन्छ, “अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मापदण्ड अनुसार संरचना बनाउने र चरणबद्ध रूपमा काम अगाडि बढाउने योजनाका साथ त्यतिबेला हामीले काम गरेका थियौँ ।”
साढे ३८ बिघा क्षेत्रफलमा रङ्गशालासहित खेलग्राम बनाउने योजना अन्तर्गत निर्माणका लागि बोलपत्र आह्वान भएसँगै शाहीले यसलाई क्रिकेटको विकासका लागि कोसेढुङ्गा साबित हुने बताउनुहुन्छ । रङ्गशाला निर्माणपश्चात् क्रिकेटको विश्वकप नेपालमै भएको हेर्ने शाहीको चाहना छ । भविष्यमा फाप्लालाई ५० हजार दर्शक क्षमतामा विस्तार गर्ने उहाँको भनाइ छ । “क्रिकेटले नेपाललाई विश्वसामु चिनाउन सफल भएको छ,” शाहीले भन्नुभयो, “पछिल्लो समय एनपिएललगायतका प्रतियोगिताले नेपाल र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा चर्चाको विषय भनेको छ ।”
क्रिकेटप्रतिको आकर्षण, खेलप्रतिको लगाब र अन्तर्राष्ट्रिय क्रिकेटप्रतिको चासोले नेपाली क्रिकेटको विकासक्रमलाई थप टेवा पुग्ने उहाँको भनाइ छ । समयक्रमसँगै नेपाली क्रिकेटले आफ्नो पहिचान विस्तार गर्दै गएको भन्दै उहाँले खेलाडीले खेलमार्फत प्रतिष्ठा, सम्मान तथा आर्थिक अवसर प्राप्त गर्न थालेको पनि बताउनुभयो । नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन खेलाडी, प्रशिक्षक, सम्बन्धित निकाय र सरोकारवालाबिच समन्वय आवश्यक उहाँको भनाइ छ । खासगरी राज्यले उचित अवसर, लगानी र निरन्तर प्रोत्साहन गर्न सके नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अझ बलियो पहिचान बनाउन सक्ने शाहीको अपेक्षा छ ।
“अहिलेको सरकारले क्रिकेटलाई निकै नै चासोका साथ हेरिरहेको जस्तो लाग्छ, स्वयम् प्रधानमन्त्रीले नै सबै प्रदेशमा फ्लडलाइटसहितको रङ्गशाला निर्माणसँगै एनपिएलले होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा गरिसक्नुभएको छ, यो हामी खेलप्रेमीका लागि गर्वको कुरा हो,” शाहीले भन्नुभयो ।

















