
रुपन्देहीका सफल उद्योगी व्यवसायीले आफ्ना अनुभव र संघर्षका कथा विद्यार्थीलाई सुनाएका छन् ।
मंगलबार रुपन्देहीको तिलोत्तमामा जारी मेला अवलोकनका लागि आएका विभिन्न विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीलाई उद्यमशीलताको महत्व, व्यवसाय सञ्चालनका चुनौती र सफलताका आधारबारे उद्योगी व्यवसायीले अनुभव सुनाएका हुन् ।
कार्यक्रममा मेला आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, गण्डकी चिउरा उद्योगका सञ्चालक सुरज पंगेनी, सत्यवती वि कन्सर्नका सञ्चालक राजकुमार पाण्डे र माउन्ट एभरेष्ट कत्था उद्योगका सञ्चालक वसन्त रोकाले आफ्ना व्यावसायिक अनुभव र सफलताका कथा सुनाउनुभयो ।
उहाँहरूले व्यवसाय सुरु गर्दाका चुनौती, निरन्तर मेहनत, जोखिम बहन गर्ने क्षमता, धैर्य र अवसरको पहिचानले उद्यमशीलतामा सफलता हासिल गर्न सकिने अनुभव सुनाउँदै विद्यार्थीलाई भविष्यमा रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न प्रेरित गर्नुभयो ।
विद्यार्थीको सहभागिता र सहज सिकाइलाई ध्यानमा राखेर कार्यक्रमलाई विभिन्न समूहमा विभाजन गरिएको थियो । सफल उद्यमीका प्रत्यक्ष अनुभव सुन्न पाउँदा विद्यार्थीलाई उद्योग, व्यापार र स्वरोजगारका सम्भावनाबारे बुझ्ने अवसर मिलेको आयोजकले जनाएका छन् ।
‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने सन्देशसहित आयोजित मेलामा उद्यमशीलता प्रवर्धनलाई पनि महत्व दिइएको छ । करिब ३२५ स्टल रहेको १४ दिने मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री भइरहेको छ । कृषि तथा पर्यटन प्रवर्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि समेटिएको संघका महासचिव तथा मेलाका प्रवक्ता राजकुमार पाण्डेले बताउनुभयो । मेलालाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी मनोरञ्जन, संस्कृति र पर्यटनसँग समेत जोडिएको छ ।
त्यस्तै पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक संरचना, रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यान मेलाका आकर्षण हुन् ।
तिलोत्तमाका पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार तथा नेपाल आरोग्य वर्ष २०२७ को प्रचारका लागि पर्यटन ग्यालरीसमेत राखिएको अध्यक्ष कार्कीले बताउनुभयो ।


















