नेभिगेसन मेनु

सामाजिक व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य
समय:2026-11-26 12:35

65

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा प्रभावितलाई दोष दिने नभई साथ दिने सामाजिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । लैङ्गिक हिंसाका घटनामा पीडितलाई दोषी ठहर गर्ने प्रवृत्तिको अन्त्य गर्दै उनीहरूको पहिचान, गोपनीयता र सम्मानको रक्षा गरी न्याय सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ तथा अन्तर्क्रिया कार्यक्रममा बुधबार राप्ती उपत्यका (देउखुरी) मा बोल्दै मुख्यमन्त्री आचार्यले हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्रै पर्याप्त नभई कानुनको प्रभावकारी कार्यान्वयन र सामाजिक व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा मानव अधिकार, सामाजिक न्याय, समानता र सभ्य समाज निर्माणसँग जोडिएको विषय भएको उल्लेख गर्दै घरभित्र, सार्वजनिक स्थान, कार्यस्थल तथा सामाजिक सञ्जालमा हुने हिंसाका सबै स्वरूप अस्वीकार्य रहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले शारीरिक हिंसासँगै मानसिक, आर्थिक, यौनजन्य, सामाजिक तथा प्रविधिको माध्यमबाट हुने हिंसाले पनि व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र सुरक्षित जीवनयापनको अधिकार कुण्ठित गर्ने भएकाले हिंसालाई पहिचान गर्ने, त्यसविरुद्ध आवाज उठाउने र पीडितलाई न्याय दिलाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को परिकल्पना हिंसा, विभेद र असुरक्षामुक्त समाज निर्माणबाट मात्रै पूरा हुने भन्दै उहाँले समाजका आधा जनसङ्ख्याले भय र असुरक्षामा जीवन बिताउनुपर्ने अवस्था रहेसम्म समृद्धिको लक्ष्य अधुरो रहने बताउनुभयो । हरेक महिला सुरक्षित, बालबालिकाले सम्मानपूर्वक बाँच्न पाउने र नागरिकले समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । 

प्रदेश सरकारले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सिप विकास, उद्यमशीलता, निर्णय प्रक्रियामा सहभागिता तथा हिंसा प्रभावितको संरक्षण र पुनस्र्थापनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । लैङ्गिक उत्तरदायी बजेट प्रणाली, महिला तथा बालबालिकामैत्री सेवा प्रवाह र सामाजिक विभेद न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिएको उहाँले उल्लेख गर्नुभयो ।

लैङ्गिक समानता महिलाको मात्रै मुद्दा नभई समग्र समाजको साझा सवाल भएको उल्लेख गर्दै उहाँले पुरुषले पनि सोच र व्यवहार परिवर्तन गरी हिंसाविरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । हिंसा गर्ने व्यक्तिलाई संरक्षण गर्नुको सट्टा कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । बुधबारदेखि सञ्चालन हुने १६ दिने अभियानलाई औपचारिक कार्यक्रममै सीमित नगरी वर्षभरि निरन्तर चल्ने सामाजिक जागरणका रूपमा अघि बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो । 

सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रम सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरे, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णाकुश्मा थारू, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढा र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले पनि लैङ्गिक हिंसाको घटना न्यूनीकरण गर्न सबैले आआफ्नो क्षेत्रबाट सक्रियता देखाउनुपर्ने बताउनुभयो । 

यसैबिच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत नेपाल परिवार नियोजन सङ्घ दाङको आयोजना तथा विभिन्न सङ्घ संस्थाको सहआयोजनामा बुधबार घोराहीमा प्रभातफेरी तथा कोण सभा गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले लैङ्गिक हिंसाका घटना मानव अधिकारको हनन भएका घटना भएको बताउनुभयो । महिला र पुरुषबिच समान अधिकार तथा अवसर सुनिश्चित भए मात्र सुशासन कायम हुने उहाँको भनाइ थियो । 

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले अभियानलाई भाषणमा मात्र सीमित राख्न नहुने बताउनुभयो । महिला हिंसा र अन्याय रोक्न सबैले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी