नेभिगेसन मेनु

पर्यटन प्रवर्धन गर्न साइकल यात्रा
समय:2026-11-25 11:56

cycle--yatra-lumbini

 भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटनलाई नयाँ ढङ्गले विस्तार गर्ने उद्देश्यसहित दिगो पर्यटन परियोजना अन्तर्गत  मङ्गलबारदेखि लुम्बिनी साइकल यात्रा सुरु गरिएको छ । 

साइकल यात्रामार्फत पर्यटकलाई लुम्बिनीआसपासका ग्रामीण बस्ती र सम्पदासँग जोड्ने लक्ष्यसहित तीन वटा फरक दुरीका साइकलमार्ग सञ्चालनमा ल्याइएको हो । योसँगै लुम्बिनी घुम्न आउने पर्यटक अब मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनुपर्ने छैन । लुम्बिनीको पर्खालबाहिर रहेका गाउँ, पुराना बस्ती, मठमन्दिर, पोखरी, खेतबारी, स्थानीय संस्कृति र जनजीवनको अनुभव पनि साइकल चढेरै लिन सकिने भएको छ ।

लुम्बिनी होटेल सङ्घ र पर्यटन क्षेत्रका सरोकारवालाको पहलमा अघि बढाइएको यो अभियानले लुम्बिनीको पर्यटनलाई धार्मिक दर्शनमा मात्र सीमित नराखी प्रकृति, संस्कृति, स्थानीय जीवनशैली र समुदायको आर्थिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष आनी छोइङ डोल्माले लुम्बिनीको तीर्थाटनलाई साइकल र शान्त वातावरणसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।  

उहाँले भविष्यमा लुम्बिनी दर्शन गर्न आउने भक्तजनले समेत साइकल प्रयोग गरेर तीर्थस्थलको भ्रमण गर्न सके वातावरण थप स्वच्छ र शान्त बन्ने बताउनुभयो । गाडीको अत्यधिक प्रयोग, होहल्ला र भिडभाडले लुम्बिनीको शान्त वातावरण प्रभावित हुन सक्ने उल्लेख गर्दै उहाँले तीर्थयात्रालाई सहज, शान्त र आध्यात्मिक अनुभूतिसँग जोड्नुपर्ने धारणा राख्नुभयो । साइकल स्वास्थ्यका लागि पनि लाभदायक रहेको भन्दै उहाँले यात्रामा सहभागी सबैलाई सुरक्षित रूपमा यात्रा गर्न आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्गविक्रम शाहले पर्यटनको विकास गर्दा वातावरण संरक्षण, स्थानीय जीविकोपार्जन र समुदायको प्रत्यक्ष लाभलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । लुम्बिनी र ग्रेटर लुम्बिनी क्षेत्रलाई साइकलका माध्यमबाट जोड्दै ग्रामीण समुदाय, सम्पदा र स्थानीय जनजीवनलाई पर्यटकसमक्ष पुर्‍याउने प्रयास महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । यस अभियानलाई दीर्घकालीन बनाउन लुम्बिनी विकास कोष, स्थानीय पालिका, होटेल व्यवसायी, पर्यटन नेटवर्क र अन्य सरोकारवालाबिच सहकार्य आवश्यक रहेको शाहले उल्लेख गर्नुभयो । लुम्बिनीको वडा नम्बर १० बाट विकास गरिएका तीन वटा साइकलमार्गले पर्यटकलाई फरक फरक अनुभव दिने छन् ।

पहिलो मैत्री मार्ग आठ किलोमिटर लामो छ । दुईदेखि तीन घण्टामा पूरा गर्न सकिने यो मार्गमा मन्दिर, पोखरी, खेतीयोग्य जमिन र ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ । स्थानीय हस्तकला केन्द्रसम्म पुग्ने यो मार्ग साइकल यात्रा सुरु गर्ने नयाँ पर्यटकका लागि सहज मानिएको छ । दोस्रोतर्फ प्रज्ञा मार्ग १६ किलोमिटर लामो छ । चारदेखि पाँच घण्टा लाग्ने यो यात्रामा खेतबारी, नदी किनारका गाउँ, चराचुरुङ्गी तथा वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । यस मार्गमा कुम्हार बस्ती, स्थानीय बजार र झोलुङ्गे पुलसमेत समेटिएका छन् । तेस्रो मार्गका रूपमा करुणा मार्ग २४ किलोमिटर लामो विकास गरिएको छ । सातदेखि आठ घण्टासम्म लाग्ने यो मार्गले पर्यटकलाई लुम्बिनीको अझ भित्री ग्रामीण परिवेशसम्म पुर्‍याउँछ । नदी पारका बस्ती, पुराना गाउँ, आश्रम, खेतीपाती र ऐतिहासिक स्थल यस यात्राका आकर्षण हुन् । यी तीन वटै मार्गले लुम्बिनी आउने पर्यटकलाई नयाँ अनुभव दिनुका साथै स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने विश्वास गरिएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण, सरसफाइ र पर्यटन प्रवर्धनका लागि अभियानले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । लुम्बिनी होटेल सङ्घका अध्यक्ष लीलामणि शर्माले लुम्बिनीको वास्तविक पहिचान पर्खालभित्र मात्रै सीमित नरहेको बताउनुभयो ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी