
दुबई — अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको आइतबार १०० औं दिन भएको छ । आइतबार नै अमेरिकाले हर्मुज जलमार्गमा दुई वटा इरानी ड्रोन खसालेको घोषणा गरेको छ । यसअघि इरानले शनिबार बहराइन र कुवेतमा आक्रमण गरेको थियो ।
यद्यपि, दुई पक्षबीच अप्रत्यक्ष वार्ताहरू जारी छन् । तत्काल लडाइँ रोक्ने र इरानको आणविक कार्यक्रमका विषयमा भविष्यमा सम्झौता गर्न दुवै पक्ष सहमत भएको अलजजिराको समाचारमा उल्लेख छ । आइतबार पाकिस्तानका गृहमन्त्री मोसिन नक्वीले इरानको राजधानी तेहरानको भ्रमण गरेका छन् । उनले इरानी सर्वोच्च नेता मोज्ताबा खोमेनेईलाई अमेरिकाको सन्देश सुनाएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताबारे आफू आशावादी रहेको बताउँदै आएका छन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि दुई देशबीच सञ्चार खुला रहेको बताएका छन् । तर, अप्रत्यक्ष वार्तामा ठोस प्रगति हुन सकेको छैन । इरानले लेबनानसहित सबै मोर्चामा शत्रुताको अन्त्य, रोक्का गरिएको अर्बौं डलरको सम्पत्तिमा पहुँच, कच्चा तेल निर्यातमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध फुकुवा, अमेरिकाले आफ्ना बन्दरगाहमा लगाएको नाकाबन्दी खुला गर्नुपर्नेलगायत माग राखेको छ । इरानले आणविक कार्यक्रम स्थगित गर्नुपर्ने, उच्च संवर्द्धित युरेनियमलाई देशबाहिर पठाउन सहमत हुनुपर्ने, हर्मुजको जलमार्ग खुला गर्नुपर्नेलगायत माग अमेरिकाको छ ।
इरान युद्धमा अहिलेसम्म ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । २८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि संयुक्त आक्रमण गर्दा पहिलो निसानामै सर्वोच्च नेता अली खामेनेईसहित शीर्ष कमान्डरहरू मारिएका थिए । इरान युद्ध तीन साताभित्रै सकिने दाबी अमेरिकी राष्ट्रपति ट्रम्पको थियो । त्यसविपरीत आक्रमण–प्रत्याक्रमणको शृंखला १ सयौं दिनसम्म पनि चलिरहेको छ । पश्चिम एसियामा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा इरानले ठूलो क्षति पुर्याइरहेको छ । त्यस्तै, हर्मुजको जलमार्गमा नियन्त्रण कायम राख्दा विश्वव्यापी रूपमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यवृद्धि तथा संकट गहिरिएको छ । वासिङ्टन र तेहरानबीच अप्रिलमा युद्धविराम गर्ने सहमति भएको थियो । ११ र १२ अप्रिलमा दुई देश पाकिस्तानको इस्लामाबादमा प्रत्यक्ष रूपमा वार्ताको टेबुलमा बसे । तर, उक्त वार्ता सफल हुन सकेन । त्यसयता, शान्ति सम्झौताका लागि लगातार प्रयास हुँदै आए पनि यसले सार्थकता पाउन सकेको छैन ।

इरानभन्दा धेरैजनता लेबनानमा मारिएका छन् । इरानमाथि भएको आक्रमणको विरोधमा २ मार्चमा लेबनानको विद्रोही संगठन हिजबुल्लाहले इजरायलविरुद्ध युद्ध सुरु भएको घोषणा गर्दै मिसाइल प्रहार गरेको थियो । त्यसयता, इजरायलले लेबनानमा लगातार आक्रमण गरिरहेको छ । प्रारम्भिक आँकडाअनुसार अहिलेसम्म लेबनानमा कम्तीमा ३ हजार ५ सय ९३, इरानमा ३ हजार ४ सय ६८, खाडी देशमा २९ जना, इजरायलमा २६ जना र १३ अमेरिकी सैनिकले युद्धमा ज्यान गुमाइसकेका छन् ।


















