
काठमाडौँ, जेठ ११ गते । चर्या बौद्ध दर्शन तथा नृत्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका यज्ञमानपति बज्राचार्यको विशेष सम्मानमा चर्या प्रभाव एक साँझ सम्पन्न भएको छ ।
शनिबार गुरु यज्ञमानपति बज्राचार्यको विशेष उपस्थिति तथा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा चर्या नृत्यको विधा समेतिएको थियो । चर्या नृत्यका पद्मनर्तेश्वर, एवंमया, नामसंगीति कुरुकुल्ला, बज्रसरस्वती, कालभैरव, बुंगमलोकेश्वर, जय जय बागेश्वरी, बज्रवीर महाकालसहितका प्रस्तुति राखिएको थियो ।
कार्यक्रममा गुरु यज्ञमान पति बज्राचार्यले भन्नुभयो, “आजको यो वातावरणमा देवी–देवताको अलौकिक उपस्थिति महसुस भइरहेको छ । आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम अत्यन्त दुर्लभ हुने गर्छ । आज मैले आफ्नो जीवनको सार्थकता महसुस गरेको छु ।’
काठमाडौँ महानगरपालिकाका प्रमुख डंगोलले गुरु यज्ञमान पति बज्राचार्यले कुनै जात, उमेर, वर्ग वा समुदायको भेदभाव नगरी सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दै आउनुभएको बताउनुभयो । गुरुले दिनु भएको शिक्षा उहाँले विद्यार्थी प्रति देखाउनु हुने उत्तरदायित्वको कारणले नै यो कार्यक्रम गर्न प्रेरित भएको उहाँको भनाइ थियो ।
नेपाः डान्स एकेडेमीका प्रमुख संयोजक रीना महर्जनले “चर्या प्रवाह” ले नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । रोहिया महर्जन अध्यक्ष तथा गम्भीरमान सिंह प्रबन्ध निर्देशक रहेको यस संस्थाले मूर्त अमूर्त कलाको संरक्षणका लागि सदैब तत्पर रहि काम गर्दै आएको र यो पनि यसको भाग रहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका, युनेस्को तथा काठमाडौँ सिटी अफ फिल्म्सको आयोजक रहेको यस कार्यक्रममा नेपाः डान्स एकेडेमी, बौद्ध दर्शन अध्ययन पुचः र नेपा सांस्कृतिक पुचःको सहकार्य रहेको थियो ।












