नेभिगेसन मेनु

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान
सम्पादक:南亚网络电视
समय:2026-04-08 13:14

 

 Untitled-5

काठमाडौँ, चैत २५  गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । कावासोती–१, हात्तीखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ ।

तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले मन्दिर स्थापना गरेको स्थानीय अग्रज बताउँछन् । राजा मणिमुकुन्द सेनले आफ्ना राज्यको सीमा सुरक्षार्थ शक्तिपीठका रूपमा यस मन्दिर स्थापना गरी पूजा गरेको किंवदन्ती रहेको महाराजा मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष चेतबहादुर थापाले बताउनुभयो ।

कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ अवस्थित यस मन्दिरमा दिनहुँजसो नवलपुरसहित देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू पुग्ने गर्दछन् । महाराजा थान मन्दिर आज धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । यहाँ पूजा गरी भाकल गरे मनोकामना पूरा हुने जनविश्वासका कारण श्रद्धालुहरू मन्दिरमा आउने गरेका समितिका अध्यक्ष थापाले बताउनुभयो । “यहाँका समुदायले अनुकूल वा प्रतिकूल जुनसुकै अवस्था आउँदा पनि यहाँ पूजा गर्ने गर्छन्”, अध्यक्ष थापाले बताउनुभयो ।

तत्कालीन समयमा तराईमा औलोलगायत महामारी तथा रोग फैलिँदा त्यसबाट मानिसलाई जोगाउन मन्दिरप्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरू आई कुखुरा, हाँस, परेवा, भेडा, पाठो, राँगोजस्ता बलि चढाई चार–पाँच दिनसम्म बास बसी धार्मिककार्य गर्ने गर्दथे भन्ने यहाँका अग्रजहरूबाट सुनिएको मन्दिरका अध्यक्ष थापाले बताउनुभयो ।

यहाँका आदिवासी थारू समुदायले यसलाई सदियौँदेखि विशेष रूपमा पूजा गर्दै आएको उहाँको भनाइ छ । उक्त समुदायले महाराजा देवतासँग वर मागी निःसन्तान हुनेहरूको सन्तान प्राप्ति भएको र सो सन्तानको न्वारन पनि यसै मन्दिरमा आइपर्ने गरेको अध्यक्ष थापाले बताउनुभयो । कतिपयले आफ्ना बालबच्चाको नामसमेत थारू भाषामा महाराजा÷महाराजी राखेको पाइएको उहाँले बताउनुभयो ।

मन्दिर नजिकै रहेको हरियाली वातावरण, चिसो हावा र वरिपरि देखिने मनोरम दृश्यका कारण यहाँ घुमफिर गर्न तथा पूजा गर्न आउनेको सङ्ख्या बढ्दो रहेको अध्यक्ष थापाले बताउनुभयो । यहाँ पञ्चबलिसहित परेवा उडाउन आउनेको सङ्ख्यासमेत उल्लेख्य रहेको अध्यक्ष थापाले बताउनुभयो । मन्दिर व्यवस्थापन समितिले यसका लागि विभिन्न शुल्क निर्धारण गरेको छ ।

महाराजा थानमा विशेषगरी बडादसैँ र रामनवमी अर्थात् चैतेदसैँका अवसरमा मेलापर्वकै रूपमा धार्मिककार्य गर्नेहरूको घुइँचो लाग्ने गर्दछ । महाराजा थान मन्दिरको विकासका लागि २०६९ सालमा महाराजा मन्दिर धार्मिक सेवा समिति निर्माण गरी यसको थप संरक्षणमा लागिएको अध्यक्ष थापाले बताउनुभयो । मन्दिरको थप भौतिक संरचना निर्माण र मन्दिर परिसरको स्तरोन्नति तथा विकासका लागि डिपिआरसमेत तयार गरिसकिएको अध्यक्ष थापाले बताउनुभयो । राज्यस्तरबाट ऐतिहासिकस्थलका रूपमा रहेको महाराजा थानको विकासका लागि पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।

कावासोती नगरपालिका–१ का कार्यवाहक वडाध्यक्ष ओमबहादुर थापाका अनुसार मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनका लागि वडास्तरबाट रकम विनियोजन गरिएको छ । महाराजा थान जिल्लाकै प्रमुख धार्मिकस्थलका रूपमा रहेकाले यसको थप विकासका लागि प्रदेश र सङ्घस्तरबाट पनि सहयोग आवश्यक रहेको छ । महाराजा थानको थप व्यवस्थापन र प्रचारप्रसार हुन सकेमा नवलपुरमात्र नभई देशकै महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्ने सम्भावना रहेको कार्यवाहक वडाध्यक्ष थापाले बताउनुभयो । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर