काबुल — अफगानिस्तानमा आइतबार राति गएको ६ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ६१० जनाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । यस्तै १३ सय भन्दा बढी घाइते भएका छन् ।
तालिबान सरकारको गृहमन्त्रालयले अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको जानकारी दिएको छ ।
अफगानिस्तानको नांगरहार र कुनार प्रान्तमा आइतबार राति स्थानीय समयअनुसार ११ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको गहिराई ८ किलोमिटर रहेको थियो ।
पहिलो भूकम्पपछि आएका लगातारका शक्तिशाली पराकम्पका कारण ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पका झड्का अफगानिस्तानको राजधानी काबुलसहित पाकिस्तानको राजधानी इस्लामावादसम्म महशुस गरिएको थियो ।
कुनारमा सबैभन्दा धेरै क्षति भएको बताइएको छ । यहाँ करिब ९० प्रतिशत भूभाग पहाडी क्षेत्र रहेको छ । भूकम्प प्रभावित क्षेत्रसम्म जाने बाटो निकै साँघुरो रहेको र कैयौं भूस्खलनका कारण अवरुद्ध भएको बताइएको छ ।
तालिबानका अधिकारीहरुका अनुसार आफूहरुसँग सीमित स्रोत साधन रहेको र अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको छ ।