एस् ए टी भी ०८ वैशाख, काठमाडौँः नेपाली खानाको प्रवर्द्धनका लागि बेइजिङस्थित चीनका लागि नेपाली दूतावासमा ‘नेपाल खाना महोत्सव’को आयोजना गरिएको छ। चीन नेपाल दौत्य सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाली खानासहित पर्यटन प्रवर्द्धनका लागि नेपाली दूतावासले वैशाख ८ गते सोमबार दूतावास परिसरमा ‘नेपाल खाना महोत्सव’को आयोजना गरेको हो।
कार्यक्रमको शुभारम्भ चीनका लागि नेपाली राजदूत कृष्ण प्रसाद ओली र नेपालका लागि चीनका पूर्व राजदूत याङ हौलानले पानसमा बत्ती बालेर गर्नुभएको थियो।
आफ्नो स्वागत मन्तव्यमा, राजदूत कृष्ण प्रसाद ओलीले नेपाली खाना प्रवर्द्धनका लागि खाना महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो। पर्यटनको विकासमा खाना संस्कारको महत्त्व रहेको बताउँदै नेपाली खाना चखाउने कार्यक्रमको आयोजना गरेको बताउनुभयो।
वल्ड टूरिजम एलायन्स चीनका उपाध्यक्ष सू फङ, चाइन एशोशिएशन अफ ट्राभल सर्भिसेजका उपसचिव चीन चान लिन, होटेल एशोशिएशन अफ नेपालका अध्यक्ष विनायक शाहले चीन र नेपालको मित्रता तथा आदानप्रदानका विभिन्न विषयहरूमा चर्चा गर्नुभएको थियो।
परराष्ट्र मन्त्री आरजु राणा देउवाको भिडियो सम्बोधन प्रसारण गरिएको थियो भने नेपाल टूरिजम बोर्डका अधिकारी सुनिल शर्माले नेपालमा खाद्य पर्यटन सम्बन्धमा प्रस्तुती दिनुभएको थियो।
होटेल एशोशिएशन अफ नेपालका हेड सेफ श्याम बहादुर तामाङ, हरिदेवी श्रेष्ठलाई राजदूत ओलीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उहाँहरू दुवैजना यसै कार्यक्रमका लागि नेपाली खाद्य परिकार तयार पार्न नेपालदेखि आएका हुन्।
दूतावास परिसर नेपाली खाना स्टल र नेपाली सामानका स्टलहरूले भरिएका थिए भने चिनियाँहरू नेपाली खानामा झुम्मिएका देखिन्थे। नेपाली खाना स्टलमा नेपालका विभिन्न जातजातिका मौलिक खानाका साथै मःम, सेलरोटी, बारा, खिर, तरकारी, अचार, गुन्द्रुक, क्वाटीलगायतका खानाहरू थिए।
महोत्सवको दौरान नेपाली सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।