नेभिगेसन मेनु

दसौं राष्ट्रिय खेलकुद: पौडीमा पाँच नयाँ राष्ट्रिय कीर्तिमान
समय:2026-11-27 13:19

padak-bijeta-kheladiharu

दसौं  राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको तेस्रो दिन पनि पाँच नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । प्रतियोगितामा बागमती प्रदेश र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को टोलीले पदक तालिकामा वर्चस्व कायम राखेका छन् ।

नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा जारी प्रतियोगिताका ३४ इभेन्टका खेल सम्पन्न हुँदा बागमती प्रदेशले १२ स्वर्ण, सात रजत र सात कांस्य गरी २६ पदक जितेर अग्रस्थान कायम गरेको छ । नौ स्वर्ण, तीन रजत र तीन कांस्य गरी १५ पदक जितेको एनआरएनए दोस्रो स्थानमा छ ।

नेपाल आर्मी क्लबले छ स्वर्ण, १० रजत र १३ कांस्य गरी २९ पदक जितेको छ । त्यसैगरी नेपाल पुलिस क्लबले चार स्वर्ण, ११ रजत र १२ कांस्य गरी २७ पदक जितेको छ । कोशी प्रदेशले दुई स्वर्ण तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, तीन रजत र एक कांस्य गरी पाँच पदक जितेका छन् ।

बिहीबारको खेलमा पाँच नयाँ राष्ट्रिय कीर्तिमान बनेका हुन् । महिला एक हजार ५०० मिटर फ्रिस्टायलमा एनआरएनएकी खेलाडी लिली बोहराले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै १८ मिनेट चार दशमलव १५ सेकेन्डमा दूरी पूरा गरी स्वर्ण पदक जित्नुभयो ।

त्यसैगरी पुरुष २०० मिटर व्यक्तिगत ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै नाममा रहेको दुई मिनेट ३४ दशमलव ७४ सेकेन्डको कीर्तिमान सुधार गर्दै दुई मिनेट ३४ दशमलव ३६ सेकेन्डमा दूरी पूरा गरी स्वर्ण पदक जित्नुभयो ।

पुरुष १०० मिटर बटरफ्लाइमा बागमती प्रदेशका अभिभ प्रधानले ५८ दशमलव २२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो । यसअघि सन् २०१७ मा गौरीका सिंहले एक मिनेट सात दशमलव ६९ सेकेन्डको कीर्तिमान कायम गर्नुभएको थियो ।

त्यस्तै पुरुष ५० मिटर ब्याकस्ट्रोकमा अभिभ प्रधानले आफ्नै नाममा रहेको २८ दशमलव ९९ सेकेन्डको कीर्तिमान सुधार गर्दै २८ दशमलव ९५ सेकेन्डमा दूरी पूरा गरी स्वर्ण पदक जित्नुभयो ।

चार गुणा १०० मिटर फ्रिस्टायल रिलेमा पनि बागमती प्रदेशले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको छ । अभिभ प्रधान, बन्तबहादुर श्रेष्ठ, आरेक कर्माचार्य र वशिष्ठराज शाही सम्मिलित टोलीले तीन मिनेट ४५ दशमलव ७५ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाएको हो ।

यसअघि बागमती प्रदेशकै अभिभ प्रधान, जाडेन श्रेष्ठ, अल्भिन महर्जन र रेभन्तबहादुर श्रेष्ठको टोलीले तीन मिनेट ५८ दशमलव ३४ सेकेन्डको कीर्तिमान कायम गरेको थियो ।

तीन दिनको खेलमा सबैभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडी बागमती प्रदेशका अभिभ प्रधान बन्नुभएको छ । उहाँले व्यक्तिगत स्पर्धामा छ र रिलेमा दुई गरी आठ स्वर्ण पदक जित्नुभएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी