
सरकारले बन्द रहेका सरकारी स्वामित्वका उद्योग सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको छ । सात उद्योगको विस्तृत सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रतिवेदन सम्पन्न गरी त्यसमा तीन उद्योगको प्रक्रिया अगाडि बढाएको हो ।
सात उद्योगको डिडिए प्रतिवेदन प्राप्त भइसकेकोमा त्यसमध्ये तीन उद्योगको प्रक्रिया अगाडि बढाउन सार्वजनिक लगानी व्यवस्थापन समितिमा पठाउन लागेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालय, सार्वजनिक संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव कविता रेग्मीले गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टको सम्पत्ति तथा दायित्व मूल्याङ्कनको अध्ययन सकेर समितिमा पेस गर्न लागिएको जानकारी दिनुभयो ।
गोरखकाली रबर उद्योगलाई एक साताभित्रमा समितिमा पेस गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यस्तै उदयपुर र हैटौँडा सिमेन्ट एक महिनाभित्रमा पठाइने तयारी गरिएको उहाँको भनाइ छ । अर्थमन्त्री स्वर्णिम वाग्ले अध्यक्ष रहेको सो समितिबाट ती उद्योगलाई सरकार आफैँले उद्योग चलाउने, निजी क्षेत्रलाई दिने र लगानी कसरी व्यवस्थापन गर्ने विषयमा निर्णय हुने रेग्मीले जानकारी दिनुभयो ।
गत वैशाख १५ को मन्त्रीपरिषद् बैठकले सात वटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरेको थियो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्रोतसाधनको कमीले लामो समयदेखि बन्द रहेका केही उद्योग सरकारले चलाउनु राम्रो भए पनि उद्योग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले नीतिगत तवरबाट सहजीकरण गर्ने हो, मुलुकको समग्र आर्थिक उन्नतिका लागि निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नु पर्छ ।” निजी क्षेत्रले व्यापार व्यवसाय सञ्चालन गरी ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रमा ८० प्रतिशत योगदान पु¥याएकाले सरकारले नियमनकारी भूमिका निर्वाह गरी सञ्चालन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने उहाँको भनाइ छ ।
अर्थ मन्त्रालयका अनुसार अध्ययन समितिले बन्द रहेका उद्योग लिजमा दिने, आफैँ चलाउने र खारेज गर्ने सुझाव दिएको छ ।
उदयपुर सिमेन्ट र हैटौँडा सिमेन्ट बन्द भए पनि कर्मचारीको दायित्व भने कायम रहेको प्रतिवेदनले औल्याएको छ । उद्योग सञ्चालन वा व्यवस्थापनका लागि सेयर विनिवेश, आफैँ सञ्चालन वा अन्तिम विकल्पका रूपमा खारेजी जस्ता सम्भावित विकल्प औँल्याए पनि कुनै पनि संस्थालाई पूर्ण खारेज नै गर्नु पर्छ भन्ने सुझाव नआएको मन्त्रालयले जनाएको छ ।
डिडिए प्रतिवेदनले उद्योगहरूको जग्गा, भौतिक संरचना, रुखबिरुवा र ट्रेडमार्क/गुडविल जस्ता सम्पत्तिका साथै ऋण र ब्याजको दायित्व मूल्याङ्कन गरेको छ । जग्गाको मूल्याङ्कन बढ्दा सम्पत्ति बढेको देखिए पनि विगतमा करोडमा लिइएको ऋणको साँवाब्याज बढेर अर्बमा पुगेको अवस्था मन्त्रालयले जनाएको छ । गोरखकाली उद्योगमा कर्मचारी नरहेकाले त्यस्तो दायित्व नरहेको मन्त्रालयले जनाएको छ । गोरखकाली रबर उद्योगमा छ सय रोपनी जग्गालगायतका भौतिक तथा अमूर्त सम्पत्ति रहेको जनाइएको छ ।
उद्योगहरू लामो समयदेखि बन्द रहेकाले जग्गाको मूल्याङ्कन बढ्दा सम्पत्तितर्फको भ्यालु बढेको देखिए पनि ऋण तथा ब्याजका कारण दायित्व पनि उच्च रहेको मन्त्रालयले जनाएको छ । समितिले अनुमोदन गरेपछि थप निर्णयका लागि मन्त्रीपरिषद्मा पेस गरिने मन्त्रालयले जनाएको छ ।
लामो समयदेखि बन्द रहेका अन्य उद्योगमा बुटवल धागो कारखाना, ओरियन म्याग्नेसाइट, नेपाल मेटल कम्पनी र जनकपुर चुरोट कारखाना रहेका छन् । डिडिए भनेको उद्योगको वास्तविक सम्पत्ति, दायित्व (ऋण), नाफानोक्सान र कर चुक्ताको अवस्थाको मूल्याङ्कन गर्नु हो । संस्था वा कम्पनी खरिदबिक्री, मर्जर वा प्राप्ति (एक्विजिसन) गर्नुअघि त्यसको वित्तीय, कानुनी तथा सम्पत्तिसम्बन्धी अवस्थाको विस्तृत र स्वतन्त्र लेखा परीक्षण गर्नु हो ।


















