
सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । नयाँ ढाँचा तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया पुनः सञ्चालन गर्ने बाटो खुल्ने मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्रालयले तयार गरिरहेको नयाँ ढाँचामा नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पिआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण हुने छ । यसले आगामी दशकमा मुलुकलाई कस्तो प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्ने मन्त्रालयले जनाएको छ ।
हाल उत्पादित विद्युत्को ठुलो हिस्सा नदी प्रवाही जलविद्युत् आयोजनाको रहेकाले बर्खायाममा बढी र हिउँदमा अत्यन्तै न्यून हुने भएकाले मौसमी असन्तुलन व्यवस्थापन गर्न ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको छ ।
यसअघि १५ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य राखेर ऊर्जा मिश्रणको अनुपात निर्धारण गरिएको थियो तर अहिले सरकारले ३० हजार मेगावाट उत्पादनको लक्ष्य अघि सारेपछि पुरानो अनुपातले दीर्घकालीन ऊर्जा आवश्यकता सम्बोधन गर्न नसक्ने निष्कर्षसहित नयाँ ढाँचा तयार गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
सन् २०१६ मा जारी राष्ट्रिय ऊर्जा सङ्कट निवारण नीति तथा विद्युत् विकास दशक २०१६–२०२६ ले पहिलो पटक विभिन्न स्रोतबाट विद्युत् उत्पादनको अनुपात निर्धारण गरेको थियो । त्यसमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनालाई ४० देखि ५० प्रतिशत र अर्धजलाशययुकत आयोजनालाई १५ देखि २० प्रतिशत हिस्सा निर्धारण गरिएको थियो ।
पछि १५ हजार मेगावाट उत्पादन लक्ष्य अनुसार तयार गरिएको ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाहीको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्तको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको पाँचदेखि १० प्रतिशत कायम गरिएको थियो । सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो । २०७९ असारमा मन्त्रीपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्याएपछि पिपिए प्रक्रियामा त्यस अनुसार परिवर्तन आएको थियो । त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले एक हजार पाँच सय मेगावाटसम्मका नदी प्रवाही आयोजनाको विद्युत् खरिद सम्झौता स्वीकृत गरेको थियो ।
गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा टेक एन्ड पे व्यवस्था लागु भएपछि नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पिपिएसमेत रोकिएको छ । प्राधिकरणका अनुसार हालसम्म ४०४ वटा नदी प्रवाही आयोजनासँग छ हजार ७१३.४४ मेगावाट, ५१ वटा अर्धजलाशययुक्त आयोजनासँग चार हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पिपिएको प्रतीक्षामा छन् ।
पिपिए नहुँदा आयोजना विकासका लागि आवश्यक वित्तीय व्यवस्थापन प्रभावित हुँदै आएको छ । नयाँ ऊर्जा मिश्रणले पिपिएको बाटो खोल्नुका साथै निजी क्षेत्रको लगानी, निर्माण गतिविधि र रोजगारी विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा मन्त्रालयको छ ।
जलविद्युत्मा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र विद्युत् माग व्यवस्थापनका लागि भारतबाट आयात गर्नुपर्ने अवस्था कायम छ । यस्तो निर्भरता घटाउन सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जालाई ऊर्जा प्रणालीमा समेट्ने तयारी गरिएको हो । यी स्रोतको सम्भावना र उत्पादन क्षमताबारे अध्ययन भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
नयाँ ऊर्जा मिश्रणले बर्खायाम र हिउँद दुवैमा विद्युत् आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेष गरी जलाशययुक्त र पम्प स्टोरेज आयोजनाले ऊर्जा भण्डारण तथा माग अनुसार आपूर्ति व्यवस्थापनमा योगदान दिन सक्छन् । त्यस्तै सौर्य र वायु ऊर्जाको विकासले उत्पादनका स्रोत र समयगत विविधता बढाउन सक्ने छ ।
नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि नेपाल विद्युत् प्राधिकरणले आयोजनाको प्रकृति र आवश्यकताका आधारमा पिपिए प्रक्रिया अघि बढाउन सक्ने जनाइएको छ ।


















