नेभिगेसन मेनु

प्रधानमन्त्रीको घोषणासँगै बैजनाथपुर क्रिकेट रंगशालाको अस्तित्व खोजिदै
समय:2026-11-27 13:18

crecket-studem-(2)

 देशभरका सात प्रदेशमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणाले यतिबेला विराटनगरका खेलप्रेमीका लागि खुशी भरेको छ । 

विराटनगर महानगरपालिका–१९ मा बैजनाथपुर क्रिकेट रंगशाला २८ वर्षदेखि निर्माणको चर्चामा छ । तर, त्यसको नाम फेरिदैं आएपनि निर्माण नभएपछि निराश रहेका विराटनगरवासीका लागि प्रधानमन्त्री वालेन्द्र शाहको घोषणाले आसा भरिदिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०५५ सालमा ८५ लाख रुपिँयामा १५ बिघा १५ धुर जग्गा खरिद गरेको थियो । तराईको समथर भू–भागमा खरिद गरेको जग्गामा खेल पूर्वाधार बन्ला भन्ने आसा यतिका वर्षसम्म साकार भएन । 

‘मैदान हेरेर जति निराशा साँचिरहेका थियौं, त्यति नै आसा प्रधानमन्त्रीको घोषणाले जगाएको छ’ पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी नवीन घिमिरेले भन्नुहुन्छ, ‘कार्यन्वयनमा गएको हेर्ने दिन नजिक आउलान् भन्नेमा छु ।’ कोशी क्रिकेट संघका सदस्य समेत रहनु भएका घिमिरेले नेपाल प्रिमियर लिगको फाइनलसँगै प्रधानमन्त्रीबाट घोषणा भएको यो कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । 

देश संघीयतामा गएपछि कोशी प्रदेशको राजधानी विराटनगर नै छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा चलिरहँदा समुन्नत मानिएको विराटनगरको रंगशाला भने झाडीले पुरिएको छ । सातौं राष्ट्रिय खुलकुद प्रतियोगिता कोशी प्रदेशमा हुँदा यो रंगशालामा अस्थायी संरचना निर्माण गरेर क्रिकेट, सुटिङलगायतका खेल सञ्चालन गरिएको थियो ।

क्रिकेट संघ मोरङका अध्यक्ष मो.सादबाबु कुरैसी, त्यसयता आवश्यकता महशुस हुनुपर्ने भएपनि कहिल्यै प्राथमिकता नपाएको बताउनुहुन्छ । उहाँले अहिलेको सरकारका प्रधानमन्त्रीको घोषणा सार्थक हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । क्रिकेट रंगशालाको अवस्था नाजुक रहेकोले मोरङ जिल्ला क्रिकेट संघले झाडी फाँड्न मात्रै तीनलाख रुपिँया बिनियोजन गरेको सुनाउनुभयो । 

प्रधानमन्त्रीले यो रंगशालालाई विराटनगर किंग्सको घरेलु मैदानका रुपमा विकास गर्ने घोषणा गर्नु भएको थियो । त्यो घोषणासँगै एनपिएलको छैटौं संस्करणदेखि ‘होम एण्ड अबे’ प्रणाली लागु गर्ने गरी तयारी गरिने लक्ष्य राखिएको छ । 

प्रदेशमा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने भनिदै आएपनि यसको अहिलेको अवस्था नाजुक देखिन्छ । यहि मैदानमा मोरङ ‘ए’ डिभिजन जिल्ला क्रिकेट प्रतियोगिता गर्ने गरी जिल्ला क्रिकेट संघले यहाँको झाडी हटाउने काम धमाधम गरिरहेको छ । जसका लागि दैनिक दशजना कामदार परिचालन गरिएको अध्यक्ष कुरैसी बताउनुहुन्छ । 

अहिले दैनिक झाडी फाँड्नेहरूले लगातार काम गर्दा १५ दिनमा काम सक्ने देखिएको छ । मोरङ जिल्ला क्रिकेट संघले यसका लागि तीनलाख रुपिँया बजेट बिनियोजन गरेको हो । झाडी फाँड्न मेशिनको समेत प्रयोग गरिएको छ । फाँडिएको झाडी उठाएर कहाँ फ्याँक्ने भन्ने समेत चिन्ता भइरहेको छ । 

कोशी प्रदेश खेलकुद विकास बोर्डले समेत यहि मैदानमा कोशी प्रदेशस्तरीय कोशी सुपर लिग आयोजना गर्ने भनेको छ । तर, प्रदेश खेलकुद विकास बोर्ड होस् वा मोरङ जिल्ला क्रिकेट संघसँग यो मैदानको आधिकारिकता भने छैन । 

राष्ट्रिय खेलकुद विकास समिति मोरङका कार्यालय प्रमुख राजनकुमार पोखरेलका अनुसार राष्ट्रिय गौरवको आयोजनामा रंगशालालाई राखिएको छ । जसलाई अन्तराष्ट्रियस्तरको खेल पूर्वाधार निर्माण गर्ने गुरुयोजना समेत हालसम्म तयार छ । जसका लागि दुई अर्ब ७९ करोड लागत अनुमान गरिएपनि गुरुयोजना बाहेकका लागि स्रोत अहिलेसम्म सुनिश्चित भएको छैन । गतवर्ष एक करोड खर्चेर यसको गुरुयोजना तयार पारिएको थियो । 

गुरुयोजनामा तीन वर्षभित्र क्रिकेट रंगशालासहित बहुउद्देश्यीय कभर्डहल, स्वीमिङ्ग पुल, चेन्जिङ ब्लक, पेभिलियन र प्यारापिट निर्माण गर्ने भनिएको छ । फुटबल तथा रग्बी, एथलेटिक्स ट्रयाक समेत यहाँ बन्ने भनिएको छ । 

जस अन्तर्गत १४८ मिटर लम्बाई र १४८ मिटर चौडाइमा क्रिकेट रंगशाला र यसमा ६९ मिटरको बाउन्ड्री दुरीस्हित पाँचवटा पिच रहने प्रस्ताव रहेको छ । यसैगरी रंगशालामा ९ हजार ४९० दर्शकदिर्घाको सिट, ३५० भीआईपी र ६० भीभीआईपी सिटसहितको प्यापिट निर्माण गर्ने लक्ष्य राखिएको छ । 

यसैगरी १०५ मिटर लम्बाई र ६८ मिटर चौडाइको फुटबल तथा रग्बी मैदान र ४०० मिटरको आठ लेन एथलेटिक्स ट्रयाक निर्माण गर्ने योजनामा समेटिएको छ । यहि परिसरमा २५ मिटर लम्बाई र २५ मिटर चौडाईको स्वीमिङ पुल तथा एक हजार ५९९ दर्शक क्षमताको दुई हजार ८५० वर्गमिटरको कभर्डहल समेत निर्माण गर्ने समेटिएको छ । 

नेपाल क्रिकेटका पूर्व अन्तराष्ट्रिय खेलाडी घिमिरे देशका अन्य स्थानमा त्यसपछि बढेका योजना अगाडि बढिरहेको भएपनि विराटनगरको रंगशाला ओझेलमा पर्दै आएको बताउनुहुन्छ । उहाँले त्रिवि क्रिकेट मैदान पूर्णतः सञ्चालनमा आइसकेको, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, मुलपानी मैदान, पोखरा क्रिकेट मैदान, फाप्ला र रामजानकी बहुउद्देश्यीयको काम भइरहँदा विराटनगर रोकिनुले दुःख लाग्ने गरेको सुनाउनुभयो ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी