
बाल्यकालदेखि नै क्रिकेट भनेपछि खाना खानसमेत छाडेर मैदानतिर दौडिने रिजन ढकाल अहिले देशभर चर्चित बन्नुभएको छ । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएपछि उहाँको चर्चा चुलिएको हो ।
गृहजिल्ला मकवानपुरमा सम्मान ग्रहण गर्न अहिले रिजनलाई भ्याइनभ्याइ छ । भविष्यमा खेल क्षेत्रमा अझै प्रगति गर्दै क्रिकेटकै पर्याय बन्ने उहाँको लक्ष्य छ ।
२७ वर्षीय रिजनको खेल चलिरहँदा हेटौँडा–२ स्थित उहाँको घरपरिवार मात्र होइन, टोल, जिल्ला र सिङ्गो देशले उहाँको प्रदर्शन नियालिरहेको थियो । छोराले उत्कृष्ट खेलाडीको उपाधि पाउँदाको क्षण सम्झँदै बुबा राजु ढकाल भन्नुहुन्छ, “छोरो उत्कृष्ट भएको घोषणा हुँदा मैले आफूलाई सम्हाल्नै सकिनँ । खुसी पनि सम्हाल्न गाह्रो हुने रहेछ ।”
उहाँ थप्नुहुन्छ, “छोरो डाक्टर बनेको भए खुसी हुनेहरू सीमित हुन्थे होलान्, तर आज सिङ्गो देश खुसी छ ।” छोराको सफलताले आफूलाई दिएको खुसी विशेष रहेको उहाँ बताउनुहुन्छ ।
रिजनले पढाइभन्दा खेललाई बढी समय दिएको देख्दा परिवारलाई बेलाबेला चिन्ता लाग्थ्यो । तर उहाँले सधैँ बुबालाई आश्वस्त पार्नुहुन्थ्यो । “सधैँ छोरोले भन्थ्यो, ‘बुबा, हजुरले चिन्ता नलिनुस्, म यसैमा राम्रो गर्छु ।’ आज उसले त्यो वाचा पूरा गर्यो,” बुबा राजु सम्झनुहुन्छ ।
क्रिकेट तुलनात्मक रूपमा महँगो खेल भएकाले सर्वसाधारणका लागि यसमा लाग्न सहज नभएको उहाँको भनाइ छ । राजुले छोराको पढाइभन्दा खेलमा बढी लगानी गर्नुभएको थियो ।
“झन्डैझन्डै वैदेशिक रोजगारीमा पठाइसकेको थिएँ,” राजु भन्नुहुन्छ, “छोरो आफैँ पनि ‘बुबा, विदेश जाऊँ कि’ भन्ने अवस्थामा पुगेको थियो ।” धैर्य र निरन्तर प्रयासकै कारण छोराले सफलता प्राप्त गरेको उहाँको भनाइ छ । रिजन आफ्नै बुबाबाट प्रेरित भएर क्रिकेटमा लाग्नुभएको हो ।
प्रारम्भिक शिक्षा हेटौँडाको जीएस बोर्डिङ स्कुलबाट सुरु गर्नुभएका रिजनले हेटौँडा–२ स्थित बालजागृति इङ्लिस बोर्डिङ स्कुलबाट एसईई तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्टबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको हो । हाल काठमाडौँमा स्नातक तहमा अध्ययनरत उहाँले एसईई परीक्षा दिएपछि क्रिकेटर रविन गुरुङ र सन्दीप महर्जनबाट हेटौँडामै क्रिकेट प्रशिक्षण लिनुभएको थियो ।
“रिजन पढाइमा पनि राम्रो विद्यार्थी हुनुहुन्थ्यो । क्रिकेटप्रतिको उहाँको लगाव लोभलाग्दो थियो । उहाँले हामीलाई गौरव गर्ने परिणाम दिनुभएको छ,” बालजागृति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदीले भन्नुभयो । विद्यालयले पनि सोमबार रिजनलाई सम्मान गरेको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि गृहजिल्ला मकवानपुर आइपुग्नुभएका रिजनलाई हेटौँडा उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ । चितवन राइनोजबाट खेल्ने दायाँहाते तीव्र गतिका बलर रिजनलाई सोमबार उपमहानगरपालिकाले एक लाख रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
एनपीएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएर नगरको नाम उच्च राखेको भन्दै नगर प्रमुख मीनाकुमारी लामाले उहाँको प्रशंसा गर्नुभयो । “रिजन ढकाल हेटौँडाको शान हुनुहुन्छ,” नगर प्रमुख लामाले भन्नुभयो ।
प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै कुल १७ विकेट लिनुभएका रिजन सर्वाधिक विकेटकर्तासमेत बन्नुभयो । उहाँले सर्वाधिक विकेट लिने खेलाडीका रूपमा ‘गोल्डेन क्याप’ जित्नुभएको थियो । एनपिएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेबापत उहाँले ओमोडा कार, उत्कृष्ट बलर बनेबापत मोटरसाइकल तथा सर्वाधिक विकेट लिने खेलाडीका रूपमा दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको थियो ।

गृहजिल्लामा हेटौँडा उपमहानगरपालिकाले एक लाख रुपियाँसहित सम्मान गरेपछि विद्यालय, वडा कार्यालय तथा विभिन्न सङ्घसंस्थाबाट सम्मान ग्रहण गर्न उहाँलाई भ्याइनभ्याइ भएको छ ।
खेल क्षेत्रमा लागेर जीवन निर्वाह गर्न सहज छैन भन्नेहरूलाई धैर्य गर्न रिजन आग्रह गर्नुहुन्छ । “मैले खेल अभ्यास गर्दा बुबाले धेरै राम्रो साथ, सहयोग र परामर्श दिनुभयो । त्यसैले आज म यहाँसम्म आइपुगेको हुँ,” उहाँ भन्नुहुन्छ, “मेरो सफलता मेरो लगावसँगै प्रशिक्षण दिनुहुनेहरूको साथ र प्रेरणा, परिवार, आफन्त तथा साथीहरूको हौसलाको परिणाम हो । यसको श्रेय सबैलाई बाँड्न चाहन्छु ।”
आगामी दिनमा अझै मेहनत गरेर खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र क्रिकेटमा आफ्नो पहिचान स्थापित गर्ने रिजनले बताउनुभएको छ ।

















