
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको एक खर्ब ३३ अर्ब २६ करोड रुपियाँ लगानीको पर्खाइमा छ । योगदानकर्ता र राष्ट्रिय कल्याणकारी कोषको समेत गरेर एक खर्ब ५८ अर्ब बराबरको रकम निजी ठुला परियोजनामा दीर्घकालीन लगानीको पर्खाइमा रहेको हो ।
निजी तथा अनौपचारिक क्षेत्रका समेत योगदानकर्ता जोडिएको सो कोषमा दिनदिनै रकम बढ्दै गए पनि उचित लगानी भने हुन सकेको छैन । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले निजी क्षेत्रको समेत सहयोगमा औपचारिक क्षेत्रमा कार्यरत योगदानकर्ताबाट कोषमा जम्मा भएको रकम देशको उत्पादनमूलक उद्योग तथा पूर्वाधारमा लगानी गर्नुपर्ने माग गर्दै आएका छन् ।
सामाजिक सुरक्षा ऐन, २०७४ र त्यसलाई टेकेर बनेको सामाजिक सुरक्षा लगानी कार्यविधि, २०७७ मा पनि दीर्घकालीन पेन्सन कोषलाई उत्पादनमूलक उद्योग, बैङ्क तथा वित्तीय संस्थामा लगानी, सेयर तथा पूर्वाधारमा लगानी गर्न सक्ने उल्लेख छ ।
कोषका अनुसार कोषले हाल बैङ्क तथा वित्तीय संस्थाको मुद्दतीसहित छ क्षेत्रमा लगानी गरिरहेको छ । कोषले डिबेन्चर, सरकारी ट्रेजरी बिल्स, विकास ऋणपत्र, म्युचल फन्ड र बचतकर्तालाई सापटीका रूपमा पनि लगानी गर्दै आइरहेको जनाएको छ ।
कोषमा जम्मा भएको रकमबाट ६१ अर्ब ९८ करोड रुपियाँ बैङ्कको मुद्दतीमा, सरकारी ट्रेजरी बिलमा ३९ अर्ब ९५ करोड, डेभलपमेन्ट बन्डमा २७ अर्ब ९२ करोड लगानी गरेको छ । कोषले डिबेन्चरमा चार अर्ब ८४ करोड म्युचुअल फन्डमा एक अर्ब ६४ करोड लगानी गरेको जनाएको छ । यस्तै योगदानकर्तालाई योगदानकर्ता सापटीबापत हालसम्म ११ अर्ब ५० करोड रकम लगानी गरिएको छ । कोषका प्रवक्ता कृष्ण अधिकारीले योगदानकर्ता सापटी अन्तर्गत कोषले ३.२ प्रतिशतमा नै विशेष सापटी, ५.८५ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी र छ प्रतिशतमा जग्गा सापटी प्रदान गरिरहेको जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा कोषले जस्तै योगदान सङ्कलन गर्ने सञ्चय कोष तथा नागरिक लगानी कोषले चाहिँ विभिन्न जलविद्युत् आयोजना जस्ता पूर्वाधारका क्षेत्रमा लगानी गरिरहँदा त्यसको लाभ आउने सुनिश्चित नभएकाले पनि सामाजिक सुरक्षा कोष त्यस प्रकारका आयोजनामा लगानी गर्न उत्सुक नदेखिएको हुन सक्ने अर्थविद्को अनुमान रहेको छ ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीले योगदानमा आधारित सामाजिक कोषमा योगदानकर्ताबाट जम्मा भएको रकम दीर्घकालीन योजनामा लगानी हुन नसक्नु सरकारको राष्ट्रिय समस्या भएको टिप्पणी गर्नुभयो । “यस्तो समस्या नीतिगत रूपमै सुधार गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, जीवन बिमा कम्पनी, नेपाल राष्ट्र बैङ्क तथा नेपाली सेनाका कल्याणकारी कोषलगायतका संस्थामा अनावश्यक पैसा थुप्रिएको छ । यसलाई परिचालन गर्नु पर्छ ।” लगानी विस्तार तथा विविधीकरण हुन नसक्दा भविष्यमा अवकाशप्राप्त व्यक्तिलाई सम्झौता अनुसार पेन्सन वा एकमुस्ट रकम भुक्तानी गर्नसमेत दबाब पर्न सक्ने जोखिम रहेको अर्थविद् अधिकारीले औँल्याउनुभयो ।
छिमेकी देश भारतमा तरलता अभाव र उच्च ब्याजदरको अवस्था देखिँदा नेपालमा भने विप्रेषण र बचतको तुलनामा लगानी हुन नसक्दा अधिक तरलताको स्थिति बनेको उहाँको भनाइ छ । अर्थविद् अधिकारीले लगानीको वातावरण सुधार्न सरकारले प्रशासनिक प्रक्रियालाई एकद्वार तथा सरल बनाउनुपर्ने, लगानीकर्तामा आत्मविश्वास जगाउनुपर्ने र ऊर्जा तथा यातायात पूर्वाधारको विकासलाई तीव्रता दिनुपर्ने सुझाव दिनुभयो ।
कोषका प्रवक्ता अधिकारीका अनुसार कोषको पेन्सन कोष दीर्घकालीन पुँजी भएकाले स्पष्ट संयन्त्र बनाएर लगानी गर्न सकिने छ । लगानीको विषयमा उत्पादनमूलक क्षेत्र, हाइड्रोपावर, सरकारका राष्ट्रिय गौरवका आयोजना फास्ट ट्र्याक जस्ता ठुला आयोजनामा पनि लगानी गर्ने विषयमा छलफल भइरहेको कोषले जनाएको छ ।


















