नेभिगेसन मेनु

मलेसिया श्रमिक ठगी प्रकरण: पूर्वमुख्यसचिव अर्याललाई म्याद थप्न अदालत लगिँदै
समय:2026-11-27 12:55

4406b311-3652-4320-8cec-5ada57b9e764t

 मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गरी अर्बौँ रुपियाँ गैरकानुनी रूपमा विदेश पठाइएको भनिएको ठगी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि आज काठमाडौँ  जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अर्याललाई हिजो विराटनगरको जोगबनी नाका क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तत्कालीन सचिव रहँदा श्रमिकबाट उठाइएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।

सिआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले अर्याललाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रकरणमा अर्याल पक्राउ पर्ने ११ औँ व्यक्ति हुनुहुन्छ ।

यसअघि पक्राउ परेका १० जनालाई जिल्ला अदालत काठमाडौँले हिजो थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अर्यालको हकमा भने अदालतले आज अनुसन्धानका लागि कति दिन म्याद थप गर्ने भन्ने निर्क्योल गर्नेछ ।

यस प्रकरणमा सिआईबीले यसअघि नै दुई पूर्वश्रममन्त्री, मन्त्रालयका तत्कालीन सचिव तथा अन्य उच्च पदस्थ कर्मचारी र व्यवसायीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ परिसक्नुभएको छ ।

यसैगरी, व्यवसायीतर्फ कैलाश खड्का, रविन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी पक्राउ पर्नुभएको छ । उहाँहरूमाथि श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गर्ने र त्यसलाई विदेश पठाउने प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।

पूर्वमुख्यसचिव अर्यालको पक्राउसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको हो । प्रहरीले यसअघि उहाँविरुद्ध पनि जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो ।

सिआईबीको प्रारम्भिक अनुसन्धानअनुसार नेपाल र मलेसिया सरकारबीच भएको श्रमसम्बन्धी समझदारी तथा कानुनी प्रक्रियाविपरीत नेपाली श्रमिकबाट रकम सङ्कलन गरी मलेसिया पठाइएको खुलेको दाबी गरिएको  छ ।

प्रहरीका अनुसार यसरी सङ्कलन गरिएको अमेरिकी डलर ६३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी नेपाली रुपियाँ एक अर्ब ६९ करोड दुई लाखभन्दा बढी रकम मलेसिया पठाइएको विषय अनुसन्धानको दायरामा छ ।

मलेसिया जाने श्रमिकको बायोमेडिकल सेवा (बीएमएस) का नाममा प्रतिव्यक्ति १०० रिङ्गेट अतिरिक्त शुल्क लिने गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सन् २०१९ देखि सन् २०२४ सम्म उक्त शुल्क सङ्कलन गरी विभिन्न चरणमा १७ पटक रकम मलेसिया पठाइएको प्रहरीको आरोप छ ।

उक्त रकम सङ्कलन गर्ने प्रक्रियामा मलेसियाली कम्पनी बेस्टिनेटको नेपालस्थित स्थानीय प्रतिनिधि म्याक्रो टेक प्रालिको भूमिका रहेको अनुसन्धानमा देखिएको छ ।

सिआईबीले रकम सङ्कलन र विदेश पठाउने कार्यमा संलग्न व्यवसायी मात्र नभई त्यसलाई निर्णय प्रक्रियामार्फत सहज बनाउने सरकारी अधिकारीहरूको भूमिकामाथि समेत अनुसन्धान गरिरहेको छ ।

विशेषगरी श्रम मन्त्रालयका तत्कालीन मन्त्री, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारीहरूले श्रमिकबाट उठाइएको रकम विदेश पठाउने प्रक्रियामा कस्तो भूमिका निर्वाह गरे भन्ने विषय अनुसन्धानको मुख्य केन्द्रमा छ ।

पूर्वमुख्यसचिव अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा भएका निर्णय र त्यसको कार्यान्वयन प्रक्रियालाई समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । समझदारी र प्रचलित कानुनी व्यवस्थाविपरीत रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको तथा त्यसबाट आर्थिक लाभ लिने र दिलाउने कार्यमा भूमिका रहेको आरोप उहाँमाथि लगाइएको छ ।

यस प्रकरणमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ । 

स्वास्थ्य परीक्षणसम्बन्धी विवाद र अनुसन्धानका कारण मलेसिया जाने श्रमिकको प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी