नेभिगेसन मेनु

पुल नबन्दा सधैँ सास्ती
समय:2026-11-19 18:52

Pul-nahuda-Sasti-Photo

सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर र हरिपुर–९, पिडारी जोड्ने लखन्देहीखोलामा पुल बन्ने आस गरेर बसेको बर्सौं बित्यो । पुल बन्ने कुनै सुरसार छैन । पुल नहुँदा स्थानीय सास्ती झेल्न बाध्य छन् । 

खोला वारपार गर्दा पानीमा हेलिनुपर्ने बाध्यता छ । बर्खामा त आउजाउ नै ठप्प हुने गरेको स्थानीय बताउँछन् । हरेक निर्वाचनमा राजनीतिक दलका नेता तथा उम्मेदवारले पुल बनाउने आश्वासन दिँदै आए पनि पुल निर्माण हुन नसकेको स्थानीयको गुनासो छ । हरिपुर नगरपालिका–१ को जानकीनगर तथा हजारबिघातर्फबाट लखन्देहीखोला पार गरेर नगरपालिकाको कार्यालय आउनुपर्ने हुन्छ तर खोलामा कतै पनि पुल छैनन् । 

हरिपुर–२, हरिवन–५ र लालबन्दी–२ को सङ्गमस्थल जुटपानीमा झोलुङ्गे पुल बने पनि अत्यन्त जीर्ण अवस्थामा छ । खोलामा पुल नहुँदा जानकीनगर र हजारबिघा क्षेत्रका किसान, विद्यार्थी, कर्मचारीलगायत दिनहुँ पानीमा हेलिएर हरिपुर तथा पिडारी आउजाउ गर्न बाध्य छन् । 

जानकीनगरका खगेन्द्र पोखरेल खोलामा पुल नहुँदा जानकीनगर र हजारबिघाका स्थानीयले भोग्दै आएको समस्या कसैले नबुझेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “खेती गर्ने किसानदेखि विद्यालय जाने बालबालिकालाई खोलामा पुल नहुँदा वारपार गर्न असाध्यै गाह्रो छ तर यस विषयमा कसैलाई मतलब नै छैन ।” 

खोलामा बाह्रैमास पानी बगिरहने भएकाले पैदल, साइकल तथा मोटरसाइकलमा आउजाउ गर्न सकस रहेको पोखरेलले बताउनुभयो । जानकीनगरबाट हरिपुर तथा पिडारीतर्फ जानु पर्दा जुत्ता, चप्पल हातमा बोकेर खोला तर्नुपर्ने बाध्यता रहेको गाउँलेको दुःखेसो छ । 

हजारबिघाका शिक्षक टेकबहादुर थापा लखन्देहीखोलामा पुल बनेको हेर्ने स्थानीयको धोको पूरा हुन नसकेकोप्रति दुःखी हुनुहुन्छ । उहाँले भन्नुभयो, “अरू ठाउँमा पुल, पुलेसा बनेर कायापलट भइसक्यो तर हाम्रो ठाउँमा भने लखन्देहीखोलाको भेल झेल्नुपर्ने बाध्यता ज्युँका त्युँ छ ।” 

हरिपुर–१ का वडाध्यक्ष नानीबाबु थापाले लखन्देहीखोलाको पिडारी र सखुवा गाउँमा पक्की पुल तथा जानकीनगरमा झोलुङ्गे पुल बनाउने योजना रहेको तर कतैबाट बजेट नै नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पुल बनाउँदा अत्यन्त लामो र ठुलो बजेटको खाँचो छ । त्यसका लागि वडाको बजेटले मात्र केही गर्न सकिने अवस्था नै छैन ।” 

लखन्देहीखोलामा पुल नभएकै कारण बर्खामा बाढी आएका बेला हरिपुर बजार र पिडारीबाट जानकीनगर तथा हजारबिघातर्फ आउजाउ गर्नु परे पूर्वपश्चिम महेन्द्र राजमार्ग निस्कनुपर्ने बाध्यता छ । त्यसका लागि लामो दुरी र बढी समय खर्चिनुपर्ने हुन्छ । 

पिडारी र जानकीनगरलाई जोड्ने गरी पुल निर्माणका लागि अघिल्लो सरकारकै कार्यकालमा रातो किताबमा योजना उल्लेख भए पनि बजेट नपरेको हरिपुर–९ का वडाध्यक्ष विश्वनाथ रायले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष नै रेड बुकमा पुलको शीर्षक त प¥यो तर बजेट शून्य भनेर उल्लेख गरिएकाले केही गर्न सकिएन् ।” 

वडा तथा पालिकाको बजेटले नभ्याउने र केन्द्रबाट बजेट नहालिदिँदा लखन्देहीखोलामा पुल बनाउन नसकिएको वडाध्यक्ष रायको भनाइ छ ।     

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी