
ऐतिहासिक कार्तिकनाच अन्तर्गतको नाच ‘दधि लीला’ मञ्चनसँगै मङ्गलबार समापन भएको छ । पाटन दरबारको कार्तिक डबलीमा हरेक वर्ष कार्तिक शुक्ल पष्ठीदेखि सुरु हुने कात्र्तिकनाच गत कात्तिक २७ गतेदेखि प्रदर्शन गरिएको हो । लोकको गलत चरित्र उदाङ्गो पार्न र नैतिक शिक्षा दिन आयोजना गरिने सो नाच अन्तिम दिन कृष्ण लीलामा आधारित यो नाचमा भगवान् श्रीकृष्णले युवावस्थामा गरेका लीलाबारे प्रस्तुत गरिएको छ । कृष्ण युवा अवस्थामा हुँदा गोपिनीसँग जिस्कने र नजिकिने कथन छ । “एक दिन गोपिनीहरू दही लिन जाँदा बाटोमा कृष्णसँग भेट हुन्छ र कृष्णले गोपिनीलाई जिस्काउन थाल्छन्,” कार्तिकनाच संरक्षण समितिका किरण चित्रकारले भन्नुभयो ।
त्यस क्रममा गोपिनीहरू जमुना नदी तर्न सक्दैनन् । नदीको छेउमा डुङ्गा लिएर कृष्ण भगवान् बसेका हुन्छन् । नदी तार्न कृष्णलाई गुहार्छन् । गोपिनीले नदी तार्न कृष्णसँग हारगुहार गरेपछि कृष्णले ज्याला माग्छन् तर ज्याला दिन गोपिनीसँग केही हुँदैन । त्यसपछि कृष्णले तिमीहरूसँग जे छ त्यै देउ भन्छन् । नदी तारिसकेपछि गोपिनीहरूले कृष्णलाई दही लिएर फर्कंदा ज्याला दिने विश्वास दिलाउँछन् ।
दही लिएर फर्कंदा फेरि यमुनाका किनारमा पुग्छन्, जहाँ कृष्ण डुङ्गा तयार पारेर बसेका हुन्छन् । कृष्णले आफूलाई गोपिनीहरूले केही नदिउन्जेल नदी नतार्ने भन्छन् । गोपिनीहरू कसै गरे पनि कृष्णलाई दही दिन मान्दैनन् । कृष्ण र गोपिनीबिच दही खोसाखोस हुन्छ । खोसाखोसमा कृष्णले दहीको कहतारो फुटाइदिन्छन् । कहतारो फुटाएपछि कृष्णलाई सबै गोपिनीले घेर्छन् र जिस्काउँछन् । गोपिनीले केहीबेर कृष्णलाई जिस्काएपछि अन्त्यमा दुवै पक्षबिच मेलमिलाप हुन्छ ।
विशेष गरी काठमाडौँको प्रतिनिधि गदाजु, भक्तपुरको प्रतिनिधि समदाजु र ललितपुरको प्रतिनिधि गर्ने बाथः किजामार्फत लोकमा देखिएको विकृति र विसङ्गतिलाई उजागर गर्दै आएको छ । सो नाचमार्फत ‘गदाजु, समदाजु र बाथः किजा समाजलाई सही दिशातर्फ लैजाने भएकाले यो मनोरञ्जनभन्दा पनि माथि रहेको छ, चित्रकारले बताउनुभयो ।


















