
धनुषाको जनकनन्दिनी गाउँपालिका –२, बलहागोठस्थित छोटी भन्सार कार्यालयको परिसरमा शुक्रबार बिहान अज्ञात पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय खजुरीको प्रहरी निरीक्षक दिनेशबहादुर कुवँरका अनुसार पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको बताउनुभयो । मृतकको शरीरमा बाहिरी घाउचोट नदेखिएको उहाँले जानकारी दिनुभयो ।
मृत्युको कारण शव परीक्षणपछि मात्रै खुल्ने बताउँदै प्रहरी निरीक्षक कुवँरले प्रारम्भिक अनुमानअनुसार मृतक प्लास्टिक सङ्कलन गर्ने भारतीय नागरिक हुन सक्ने अनुमान गरिएको बताउनुभयो ।
उहाँले शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

















