
जाजरकोटका सात वटा स्थानीय तहमा बनेका तरकारी सङ्कलन केन्द्र यतिबेला प्रयोगविहीन भएका छन् । प्रदेश तथा स्थानीय सरकारको लगानीमा निर्माण गरेका भवन प्रयोगमा नआउँदा सरकारी बजेट बालुवामा पानी भएको छ । किसानद्वारा उत्पादित वस्तु सहज रूपमा बजारसम्म पुर्याउन र उचित मूल्य दिने उद्देश्यले लाखौँ बजेट खर्च गरी निर्माण गरिएका भवन स्थानीय सरकारको लापर्बाही र सर्वसाधारणको बेवास्ताका कारण प्रयोगविहीन भएका छन् ।
किसानले उत्पादित वस्तु सहज बिक्रीवितरण गर्न पाऊन् भन्ने उद्देश्यले प्रदेश सरकारको लगानी निर्माण गरेका अधिकांश भवन सरोकारवाला निकायले बेवास्ताका कारण अलपत्र अवस्थामा छन् । तरकारी सङ्कलन केन्द्रका लागि भवन निर्माण सम्पन्न भए पनि प्रयोगमा नआउँदा समस्या भएको छ । स्थानीय सरकारले सङ्कलन केन्द्र सञ्चालनका लागि पहल नगरेपछि झ्यालढोकामा खिया लाग्नुका साथै झारपात उम्रिएर जीर्ण बनेका छन् । शिवालय गाउँपालिकाको तरकारी सङ्कलन केन्द्र, सदरमुकाम खलङ्गामा प्रदेश सरकारको ३५ लाख बजेटमा निर्माण गरेको भवन, छेडागाड नगरपालिका, नलगाड नगरपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिकामा प्रदेश तथा स्थानीय तहले निर्माण गरेका भवन अलपत्र अवस्थामा छन् । भेरी नगरपालिकाका गोपाल रोकायाले कृषि विकास कार्यालयको लगानीमा गाउँबस्तीमा निर्माण भएको भवनबाट लाभ लिन नसकिएको बताउनुभयो । स्थानीय सरकारले चासो नदिएपछि बिहान ३ बजे डोको बोकेर बजारका गल्ली पुगेर सस्तो मूल्यमा तरकारी बेच्न बाध्य भएको उहाँले जनाउनुभयो । उहाँका अनुसार तरकारी सङ्कलन केन्द्र नियमित रूपमा सञ्चालनमा आएको भए जनताले उत्पादित वस्तु केन्द्रमा जम्मा गरी बजारमा थोकमा पठाउन सहज हुन्थ्यो । स्थानीय तहमा निर्माण भएका भवन संरक्षणमा स्थानीय तहको बेवास्ताका कारण जीर्ण बन्दै गएका छन् ।
शिवालय गाउँपालिकाका प्राविधिक विश्वामित्र शर्माले तरकारी सङ्कलन केन्द्रमा हाटबजार सञ्चालन गरे पनि किसानले ल्याउन छाडेपछि करिब छ महिनामै सञ्चालनमा नआएको बताउनुभयो । बजार व्यवस्थापन समितिलाई सञ्चालनमा ल्याउन आग्रह गरेको जानकारी उहाँले दिनुभयो ।


















