एस् ए टी भी ११ साउन २०८२, काठमाडौँः इजरायलले गाजाका केही भागमा आफ्नो सैन्य गतिविधिमा ‘रणनीतिक रोक’ घोषणा गरेको छ। इजरायल रक्षा बल (आईडीएफ)ले विज्ञप्ति जारी गर्दै गाजामा मानवीय सहायताको मात्रा बढाउन ‘रणनीतिक रोक’ घोषणा गरिएको बताएको हो।
आइतबार स्थानीय समय अनुसार बिहान १० देखि बेलुका ८ बजेसम्म गाजा पट्टीका केही भागमा सैन्य गतिविधि बन्द गर्ने आइडीएफले जनाएको छ।
आइडीएफले यो प्रतिबन्ध सैन्य गतिविधि सञ्चालनमा नरहेका क्षेत्रमा हुने जनाएको छ। त्यस्ता क्षेत्रमा अल–मावासी, देइर अल–बलाह र गाजा सहर हुन्।
अर्को आदेश नभएसम्म यी क्षेत्रमा दैनिक सैन्य गतिविधिमा ‘रणनीतिक रोक’ रहनेछ।आईडीएफले भन्यो,‘यस विषयमा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संस्थासँगको परामर्शपछि यो निर्णय लिइएको हो।’
गाजा पट्टीका मानिसलाई खाना र औषधि पुर्याउने संयुक्त राष्ट्र संघ र मानवीय सहायता संस्थाका काफिलाको सुरक्षित आवागमनलाई अनुमति दिन बिहान ६ देखि राति ११ बजेसम्म स्थायी सुरक्षित मार्ग सिर्जना गरिने आईडीएफले जनाएको छ।