
गत जेठको पहिलो हप्ताबाट बन्द भएको कालीगण्डकी नदीमा जल यातायात (स्टिमर) सञ्चालन भएको छ ।
शालिग्राम शिला कालीगण्डकी जल यातायात प्रालिका अध्यक्ष डोलप्रसाद भट्टराईका अनुसार बर्खायाममा नदीमा पानीको बहाब बढेका कारण बन्द भएको जल यातायात सञ्चालनमा आएको हो । कालीगण्डकी जलविद्युत् आयोजनाले बाँधमा पानी थुनेपछि अहिले स्टिमर सञ्चालनमा आएको उहाँको भनाइ छ । स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीबेनीसम्मको छ किलोमिटरको कालीगण्डकी नदीमा जल यातायात अहिले सङ्कटमा पर्न थालेको छ । पहिले खाद्यान्न र यात्रु खचाखच बोक्ने स्टिमर अहिले यात्रुको अभावमा समस्यामा परेको हो ।
गुल्मी खण्डको कालीगण्डकी कोरिडोर र पर्वत खण्डको कालीगण्डकी लोकमार्ग खुलेपछि मेला पर्व र धर्म कर्म गर्ने मान्छे आउँछन् भनेर व्यवसायी पर्खेर बस्नुबाहेकको विकल्प छैन । कहिलेकाहीँ भ्रमण गर्न आउँनेले स्टिमरमा सेतीबेनी शालिग्राम शिलाको दर्शन गर्न आउनेजाने गरेता पनि नियमित रूपमा यात्रुको अभावका कारण समस्या भएको भट्टराईले बताउनुभयो । गुल्मी खण्ड, स्याङ्जा र पर्वत खण्डमा जताततै सडक बाटोको पहुँच भएका कारण पनि स्टिमर सञ्चालनमा प्रभाव परेको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृति लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भई सञ्चालनमा आएको हो । पहिले १२ वटा सानाठुला गरी स्टिमर रहेता पनि हाल भने तीन वटा मात्रै सञ्चालनमा रहेका छन् । प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दुई सय रुपियाँ निर्धारण गरिएको छ भने रिजर्भका लागि दुई हजार रुपियाँदेखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाइ छ । कालीगण्डकी नदीमा मिर्मीदेखि सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेटसम्मको रहने गरेको भट्टराईले जानकारी दिनुभयो ।

















