नेभिगेसन मेनु

विद्युत माग्दै वडा कार्यालयमा तालाबन्दी
समय:2026-11-19 19:01

baitadi-1

 गाउँपालिकाले विद्युत् विस्तार योजनामा १२ करोड रुपियाँभन्दा बढी खर्च गरिसक्दा पनि गाउँमा बिजुली नबलेको भन्दै सिगास गाउँपालिका –१ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाका इराना र खक्र्यौडा लगायतका बस्तीको स्थानीय बासिन्दाले तत्काल विद्युत् सेवा सञ्चालनको माग गर्दै वडा कार्यालयमा ताला लगाएका हुन् । 

वर्षौंदेखि विद्युत्को प्रतीक्षामा रहेका स्थानीयले अब आश्वासन मात्रै नभइ व्यवहारमै सेवा सञ्चालन भएको देख्न चाहेको बताएका छन् । माग पूरा नभएसम्म र बस्तीमा बिजुली नबलेसम्म तालाबन्दी यथावत् रहने विद्युत् सङ्घर्ष समितिका भानसिंह धामीले बताउनुभयो । 

सिगास गाउँपालिकाले विगत ६ वर्षदेखि विद्युत् विस्तारको नाममा गाउँमा पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर राख्ने काम गरे पनि लाइन सञ्चालनका लागि पहल नचालेको स्थानीयको गुनासो छ । वडाका आधाभन्दा बढी गाउँटोल अझै अन्धकारमै रहेको स्थानीय जयराम विकले गुनासो गर्नुभयो । 

यसअघि गत असोज २० गते नै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उपभोक्ताहरूको भनाइ छ ।

गाउँपालिका गठन भएको १० वर्ष बितिसक्दा पनि आधारभूत विद्युत् सेवाबाट वञ्चित हुनुपर्दा बालबालिकाको पठनपाठन, सञ्चार सुविधा तथा दैनिक घरायसी उज्यालोका लागि झरो र टुकी बाल्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो  छ । 

पूर्वाधार निर्माण भइसकेका क्षेत्रमा तत्काल विद्युत् प्रवाह गर्न र बाँकी टोलहरूमा पनि छिटो विस्तार कार्य अघि बढाउन स्थानीयले माग गरेका छन् ।

यता सिगास गाउँपालिका –१ का वडाध्यक्ष रामचन्द्र ऐरीले वडाका सबै टोलमा विद्युत् लाइन पुगिसकेको भए पनि बत्ती बाल्नका लागि नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले लाइन नछोडेको बताउनुभएको छ । गाउँपालिका र प्राधिकरणबिच लिखित सम्झौता भइसक्दा समेत बारम्बार धाउँदा पनि प्राधिकरणले अपेक्षित सहयोग नगरेको वडाध्यक्ष ऐरीले बताउनुभयो । 

विद्युत् वितरण केन्द्र बैतडीका प्राविधिक माधवप्रसाद लेखकले गाउँपालिकाले खरिद गरेका बजुलीको तार र पोल गुणस्तरीय नभएकाले लाइन सुधार गरेपछि मात्रै बिजुली बल्ने बताउनुभयो । 

लाइनको स्थलगत निरीक्षण गर्न कार्यालयको टोली फिल्डतर्फ खटिएकाले छिट्टै बत्ती बाल्न गाउँपालिकासित समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी