
सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको दार्चुलास्थित निर्माणाधीन खलङ्गा–खार–देथला–पारिबगड सडकखण्ड आठ वर्षसम्म पनि निर्माण पूरा हुन सकेको छैन् ।
कुनै समय बजेट अभावले त कहिले बाढीपहिरोले क्षति पुर्याउँदा सडक निर्माणमा खासै प्रगति हुन नसकेको हो । सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४, बङ्गबगडदेखि नौगाड गाउँपालिकाको दल्लेख हुँदै मार्मा र अपिहिमाल गाउँपालिकालाई जोड्ने प्रदेश गौरवको सडकलाई आव २०७५/७६ मा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको सडक घोषणा गरी निर्माण सुरु गरेको थियो ।
निर्माणकै अवस्थामा रहेको सडक बर्खायाममा हिलाम्मे हुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्सातमा दैनिक जसो परिरहने पानीका कारण सडकमा परेका खाल्टाखुल्टी, हिलाम्मे र चिप्लो भएपछि यात्रु तथा यातायात व्यवसायीले सास्ती भोग्नु परिरहेको छ । सडकको खलङ्गादेखि दल्लेखसम्मको १६ किलोमिटर क्षेत्रको अधिकांश स्थानमा सवारीसाधन सञ्चालन गर्न निकै कठिन हुने गरेको यातायात व्यवसायीले बताएका छन् । बर्खाका बेला सडकमा जमेको हिलो र खाल्टाखुल्टीका कारण यात्रु र व्यवसायीलाई सास्ती भइरहेको यातायात व्यवसायी एवं स्थानीय हरकसिंह नगालले बताउनुभयो ।
९५ किलोमिटर लम्बाइ रहेको सडकको सबै ट्र्याक खुलिसकेको भए पनि २०७९ साल भदौमा गराकुखोलामा आएको भीषण बाढीले खलङ्गाभन्दा माथिको सात किलोमिटर क्षेत्रमा पूर्ण रूपमा क्षति पु¥याएको थियो । सदरमुकाम खलङ्गादेखि नौगाड गाउँपालिका–२, दल्लेखसम्मको १६ किलोमिटर सडकखण्डमध्ये बाढीले क्षति पु¥याएको सडक निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय, बैतडीका अधिकृत इन्जिनियर जितेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
सडकको थप निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले तीन करोड पचास लाख रुपियाँ विनियोजन गरेको छ । हाल सडकको अवस्था ठिक नहुँदा यात्रु लामो समय बाटोमै अलपत्र पर्ने, आकस्मिक बिरामी तथा कृषकलाई कृषि उपज बजारसम्म पुर्याउन समस्या सिर्जना भइरहेको छ । अहिले ९५ किलोमिटर सडकमध्ये १९ करोडमार्फत आठ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्नुपूर्व गर्नुपर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । आव २०७७/७८ को बजेटमार्फत तीन वर्षभित्र सडकलाई कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको भए पनि हालसम्म ट्र्याकसमेत खोलिएको छैन ।
सडक बनाउँदै स्थानीय तह
निर्माणाधीन गौरवको खलङ्गा–खार–देथला–पारिबगड सडकखण्डको स्तरोन्नति महाकाली नगरपालिका र नौगाड गाउँपालिकाले गर्ने भएका छन् । बर्सातमा भत्किएको प्रदेश गौरवको सडक स्तरोन्नति गर्ने गरी दुवै स्थानीय तहका प्रमुखले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
खलङ्गा–खार–देथला–पारिबगड सडकखण्डको महाकाली नगरपालिका–२, मैखोलीदेखि नौगाड गाउँपालिका–२, दल्लेखसम्मको करिब तीन किलोमिटर क्षेत्रमा सडक स्तरोन्नति गर्न अन्तरपालिका बैठकपछि सहमति भएको नौगाड गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिनुभयो । सडक स्तरोन्नति गर्दा लाग्ने लागतको ५०/५० प्रतिशत रकम दुवै पालिकाले बेहोर्ने गरी सहमति भएको बताउनुभयो । सडकको स्तरोन्नतिसँगै महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको सिमानामा सीमा बोर्ड राख्ने सहमति पनि भएको छ ।










