
नेपालकै सुदूरपूर्वमा पर्ने इलामको श्रीअन्तु डाँडामा पर्यटकको भिड बढेको छ । इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडीलगायत तेस्रो मुलुकबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक यहाँ आउने क्रम बढेको हो ।
खुलेको आकाशसँगै श्रीअन्तुबाट सूर्योदयको दृश्य राम्रो देखिन थालेपछि अन्तुमा पर्यटकको भिड लाग्ने गर्छ । अन्तुक्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तुपोखरी, मनमोहक हरियाली, चियाबारी, डाँडाकाँडाको दृश्य र हिमाल आकर्षक देखिने भएका कारण त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् ।
पर्यटककै लागि भनेर खान र बस्न घर घरमा होमस्टेको व्यवस्था रहेको अन्तुका होटेल व्यवसायी रुद्र घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार अहिले सरदर दैनिक तीन हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । यहाँ अहिले ठुलासाना गरी ११० वटा होटेल, कटेज र ६५ वटा होमस्टे छन् । अहिले प्रायः अग्रिम बुकिङ भइसकेको व्यवसायी घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यस पटक तीन दिनअघिदेखि नै यहाँका होटेल, कटेज तथा होमस्टे बुक भइसकेका छन् ।
श्रीअन्तुलाई सूर्योदयको दृश्य अवलोकनका लागि देशकै आकर्षक केन्द्र मानिएकाले यहाँ घुम्न आएको सिन्धुपाल्चोकका विजय नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी ताप्लेजुङको पाथीभरा आएका थियौँ तर पूर्व आएको बेला श्रीअन्तुमा आएर झुल्केघाम नहेरी मनले मान्दै मानेन । त्यसैले यहाँ आएका हौँ ।”
श्रीअन्तुबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरि झैँ देखिन्छ । समुद्री सतहदेखि सात हजार ६३८ फिट उचाइमा रहेको श्रीअन्तु पुग्न मेची राजमार्गामा पर्ने फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नु पर्छ । यहाँ भदौ दोस्रो सातादेखि पर्यटकको भिड लाग्छ । पक्की सडक र अन्तुपोखरीमा निरन्तर डुङ्गा चल्ने भएकाले यहाँ बाह्रै महिना पर्यटक आउने गर्छन् ।











