
दाङको बबई नदीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदी पुलको भौतिक निर्माण ८० प्रतिशत पुगेको हो । निर्माण कम्पनीको ढिलाइका कारण सम्झौता मितिमा निर्माण हुन नसकेको पक्की पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको पुल सेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर सुरेश चौधरीले जानकारी दिनुभएको छ । २०८२ कात्तिक २० सम्म पुल निर्माणको काम सक्ने गरी २०७९ मङ्सिर २१ गते १७ करोड एक लाख एक हजार रुपियाँमा शान्ति निर्माण सेवा काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो ।
पुल निर्माण अन्तर्गत हालसम्म चार वटा पिल्लरसँगै दुई वटा स्पान ढलान गरेर अर्को स्पान ढलानको तयारी भइरहेको इन्जिनियर चौधरीले जानकारी दिनुभयो । पुल निर्माणको काम सन्तोषजनक गतिमा अघि बढेको भन्दै इन्जिनियर चौधरीले भन्नुभयो, “सुरुमा निर्माण कम्पनीको ढिलाइसँगै बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको थियो । अहिले पुल निर्माणले गति लिएको छ, काममा ढिलाइ छैन ।” चालु आर्थिक वर्षको चैतसम्म पुल निर्माणको काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको इन्जिनियर चौधरी बताउनुहुन्छ । पुल निर्माण अन्तर्गत ७५ प्रतिशत अर्थात् १२ करोड ७५ लाख रुपियाँ बढी खर्च भएकोसमेत बताउनुभयो ।
समयमा पुल निर्माण नहुँदा बबई नदी वारपार गर्न स्थानीयलाई समस्या हुने गरेको घोराही उपमहानगरपालिका–५, खैरागनार निवासी हिमाल बस्नेतले बताउनुभयो । गत वर्ष निर्माण भइसक्नुपर्ने पुल निर्माणमा ढिलाइ भएको भन्दै उहाँले भन्नुभयो, “पुल निर्माणमा एक वर्ष ढिलाइ भइसक्यो । यो वर्ष निर्माण सम्पन्न हुन्छ कि भन्ने आशा छ ।’’


















